
विराटनगर । सङ्घीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रिने बताएका छन् । आज विराट एक्स्पो-२०२५ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘राजनीति नीति मध्येको मुख्य नीति हो’, अर्थमन्त्री पौडेलले भने, ‘राजनीति बिग्रियो भनेदेखि अर्थतन्त्र बिग्रिन्छ । समाजका यावद प्रबन्धहरू बिग्रन्छन् । त्यसकारण राजनीति दुरुस्त नभइकन अर्थतन्त्र दुरुस्त हुन सक्दैन । समाजमा सामाजिक सु-प्रबन्ध स्थापना गर्न सम्भव हुँदैन ।’
उनले अहिलेको गठबन्धन सरकार आगामी चुनावसम्म कायम रहने समेत बताए । अर्थमन्त्री पौडेलले गठबन्धन सरकारले मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रका समस्यालाई समाधान गर्दै अघि बढ्ने दाबी गरे । यस्तै समस्या समाधान गर्न अहिलेको गठबन्धन सरकार बनेको उनले उल्लेख गरे ।
केपी ओली नेतृत्वको सरकारले पहिलो दिनदेखि नै परिणाममुखी काम गरिरहेको उल्लेख गरे । ‘अहिलेको सरकारले समस्याहरू पन्छाउँदै समाधान खोज्ने दिशामा प्रभावकारी प्रयासहरू गर्दै आएको छ’, पौडेलले भने, ‘परिणामत पछिल्ला दिनहरूमा केही सकारात्मक सकारात्मक सङ्केतहरू देखिएका छन् । निराशा क्रमश आशामा बदलिँदैछ ।’
अहिलेको सरकारले देशभित्र भविष्य खोज्न सकिन्छ भन्ने सन्देश आम नेपालीहरूमा सम्प्रेषण भइरहेको उनको भनाइ थियो । अर्थतन्त्रका समस्याहरू क्रमशः सुधार हुँदै गइरहेको उनले बताए । ‘सरकार बन्दाको अवस्थाको आर्थिक परिसूचकहरू अवस्था के थियो र आज आर्थिक परिसूचकहरूले के संकेत गरिरहेका छन्’, उनले थपे, ‘यो कुरा यहाँहरूले राम्रोसँग देख्न सक्नुहुन्छ ।’
कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सीमावर्ती बजारका कारण विराटनगरका बजार र कलकारखाना कमजोर बन्दै गएका बताए । उनले यहाँका निजी क्षेत्रका उद्योगी व्यवसायीलाई कर्मचारीसँग राखेर वृहत छलफल गर्न आवश्यक रहेको उल्लेख गरे ।
‘छलफलका माध्यमबाट कतिपय नीतिगत क्षेत्रको सुधार गरियो भने यहाँका बजार पनि गुल्जार हुन्छन्’, मुख्यमन्त्री कार्कीले भने, ‘मैले केही वर्षदेखि नियालिरहेको छु । हरेक चाडपर्वमा पारीका बजार गुल्जार हुन्छन् । तर यहाँ सुनसान हुन्छन् । यो अवस्था किन आयो ? यसमा सरकारसँगै सबै गम्भीर हुने बेला आएको छ ।’
यसैगरी विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले यस प्रकारको प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच जोड्न मद्दत गर्ने बताए । यसले सुस्ताएको अर्थतन्त्रलाई केही भएपनि चलायमान बनाउने उनको भनाइ थियो ।