मोहन ढकाल/संगालोखबर


विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ टकुवा स्थित बंगाली टोलका लक्ष्मी पासवान पाँच दशकपछि कै धेरै पीडामा छन् । अन्य समयमा पनि पीडा नभएको हैन । दैनिक ज्याला मजदुरी गर्दै जिविकोपार्जन गर्नुपर्ने टड्कारो एकातिर छँदैछ ।

अर्कोतर्फ बस्दै आएको घर पनि अदालतको आदेशपछि भत्कियो । उनको घर ऐलानी जग्गामा थियो । बंगाली पासवान, लक्ष्मीका बुबा हुन् । उनकै नामबाट टोलको नाम समेत रह्यो । तर अहिले सोही टोलबाट उठिबास लाग्न आँटेपछि उनको भोक निन्द्रा हराउन थालेको छ ।

Advertisement

करिब ५० वर्षअघि बुबाले घर बनाएका थिए । सोही घर भत्काएपछि छेउमै त्रिपाल लगाएर पाँच जनाको परिवारले दुःखसुख रात कटाउँदै आएका छन् । तर सो स्थानबाट पनि हटाउन बारम्बार दबाब आइरहेकाले उनले केही सोच्नै सकेका छैनन् । अदालतको आदेश पछि घर भत्काएको झण्डै डेढ महिना भइसकेको छ ।

‘दिनहुँ त्रिपाल हटाएर यहाँबाट जानु भनेर दबाब आउँछ’, उनले भने, ‘यो चिसोमा रात कटाउन पनि मुस्किल भइरहेको छ । यहाँबाट पनि हटाए भने हाम्रो बिल्लिबाठ हुन्छ ।’ सो टोलमा १०-१५ घर सुकुम्बासी बसोबास गर्छन् । उनका छिमेकीहरू समेत अदालतको आदेशपछि गत मंसिर १२ गते घर भत्काएपछि लक्ष्मीको परिवारलाई समस्या थपिएको बताउँछन् ।

‘वडा कार्यालय र नगरपालिका धाएको धायै छु’, लक्ष्मीले आँशु झार्दै भने, ‘तर उल्टै गाली गरेर पठाउँछन् । बस्ने ठाउँ नभएपछि यो टहरो बनाइयो । अहिले दैनिक प्रहरी आएर थर्काउँछन् ।’ जहाँ गए पनि जाओ हामीलाई मतलब छैन तर तुरुन्तै यहाँबाट भाग्नुपर्‍यो भनेर प्रहरीले दबाब दिने गरेको उनले सुनाए । जाडोको समयमा धेरै पीडा भएको उनले दुखेसो गरे ।

लक्ष्मी पासवान, तस्बिर : मोहन ढकाल/संगालोखबर

‘अब कहाँ जाने ? यहाँ बस्दै आएको पनि जुग भइसक्यो’, उनले थपे, ‘यही पीरले काम पनि गर्न सकेको छैन । कहाँ बस्ने के खाने चिन्ताले सताएको छ ।’ यही कारणले आफू पागल जस्तै बनिसकेको उनले सुनाए । कसैले पनि आफ्नो पीडा नसुनिदिएपछि थप चिन्तित बनेको लक्ष्मीले बताए । उल्टै गल्ति देखाएर जनप्रतिनिधिले समेत गालीगलौज गर्ने गरेको उनको भनाइ छ ।

नगरपालिका र वडाले पीडा बुझिदिएर आफूलाई सहज तरिकाले बस्ने वातावरण बनाइदिन उनले आग्रह गरेका छन् । ‘अदालतको आदेश पछि घर त भत्किसक्यो’, उनले भने, ‘घर भत्काएकै ठाउँमा पो बस्न पाइएनत । ओत लाग्ने छानो त चाहिने भएर पहिलाकै घर नजिकै त्रिपाल हालेको हो । स्थानीय सरकारले समस्या बुझिदिएमा राहत मिल्थ्यो ।’

मञ्जु लक्ष्मीकी पत्नी हुन् । ती पुस्तादेखि बस्दै आएको ठाउँबाट हटाउन खोज्दा असाध्यै पीडा भएको उनले दुखेसो गरिन् । ‘प्रहरी, जनप्रतिनिधि सबैको लागि हामी आँखाको छाह्रो भएका छौँ’, उनले भनिन्, ‘प्रहरीले समेत हामीलाई हातपात गरेको छ ।’ केही समयदेखि बस्ने व्यवस्था मिलाइदिन विभिन्न निकायमा धाउँदा धाउँदै जिविकोपार्जनको माध्यम समेत हराइसकेको उनले सुनाइन् ।

मञ्जु पासवान

‘घरमा खाने अन्न पनि छैन । यसैले हामीलाई धेरै तनाब दिएको छ’, उनले प्रश्न गरिन्, ‘कहाँ जानु ? के गर्नु ? यो जाडोमा कसरी रात काट्नु ?’ अहिले त्रिपाल लगाएर बसिरहेको ठाउँबाट पनि हट्न दिनहुँ प्रहरीले दबाब दिइरहेको उनको भनाइ छ । जनप्रतिनिधिले पनि दुस्मन जस्तै व्यवहार गर्ने गरेको उनको गुनासो छ । स्थानीय कैलाश सरदारका अनुसार लक्ष्मीको परिवार अहिले चारैतिरबाट समस्यामा परेको छ ।

‘हामी पनि दैनिक ज्याला मजदुरी गर्ने मान्छे हो । त्यसमाथि हाम्रो कुरा कसले सुनिदिन्छ’, उनले भने, ‘उहाँहरूलाई सहज तरिकाले बस्ने व्यवस्था मिलाइदिन सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’ लक्ष्मीका भाइ परमानन्द पासवान पनि सोही टोलमा बस्छन् । ‘घर भत्किएपछि दाजुको परिवारलाई धेरै समस्या भएको छ’, उनले भने, ‘यो जाडोमा उहाँहरू कहाँ गएर बस्ने ? छिमेकी जग्गाधनीले बाटोको विषयलाई लिएर मुद्दा गर्नुभएछ । अब घर त भत्किसक्यो । अहिले त्रिपाल टाँगेको स्थानमा बस्न दिए सहज हुनेथियो ।’

सुनवर्षी नगरपालिकाका दलित समुदाय अध्यक्ष श्याम विश्वकर्माले नगरका धेरै स्थानमा यस्ता समस्या भएपनि अहिलेको अवस्थामा पासवान परिवारलाई धेरै समस्या भएको बताए । ‘प्रायः जसो बाटो छेउकै जग्गामा विपन्न दलित सुकुम्बासीहरू बसेका छन्’, उनले भने, ‘भोलिका दिनमा नगरभरी नै यस्तो समस्या आउन सक्छ । पडाडिका जग्गावालाले मुद्धा हालेको अवस्थामा यस्तो समस्या सबैतिर आउँछ ।’

लक्ष्मी र मञ्जुसँग श्याम विश्वकर्मा

यो समस्यालाई राज्यले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । सुकुम्बासीलाई पहिला बस्ने ठाउँको उचित व्यवस्थापन गरेर मात्रै बसिरहेको ठाउँबाट हटाउनुपर्ने उनको तर्क छ । ‘लक्ष्मी पासवानलाई अहिले बास बस्न पनि समस्या भइरहेको छ’, उनले भने, ‘नगरपालिका र वडाले पहल गरेर सहज बास बस्ने व्यवस्था मिलाइदिएर स्थापित गर्न आवश्यक छ ।’

वडा नम्बर ५ का वडाध्यक्ष युगेश्वर प्रसाद ठाकुरले लक्ष्मीको परिवारलाई बस्ने व्यवस्था मिलाउन पहल गरिरहेको बताए । ‘अहिले बसेको ठाउँबाट थोरै दक्षिण बस्नु भनेका छौं’, उनले भने, ‘उहाँहरूले नै मान्नु भएको छैन । आफ्नै ढिपीले मात्र केही हुँदैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!