सुनसरी । सुनसरीको दुहबी नगरपालिका मुकदर्शक बन्दा मापदण्ड विपरित माटो उत्खनन मौलाएको छ । सम्झौता बिनै अवैध तरिकाले माटो उत्खनन भइरहे पनि नगरपालिकाले कुनै ‘एक्सन’ लिन सकेको छैन । मापदण्ड विपरित उत्खनन भइरहेको बताउने नगरपालिकाले कारबाहीका लागि चासो नदेखाउनुले पनि भित्री रहस्य उब्जाउँछ ।
गत बिहीबार दुहबी नगरपालिका-७ भलुवास्थित बुढीखोला छेउमा मापदण्ड विपरित निजी जग्गाबाट माटो उत्खनन भइरहेको जानकारी आयो । त्यस पश्चात पत्रकारको टोली उक्त स्थानमा पुग्यो । पत्रकारको टोली पुग्नासाथ माटो खन्न प्रयोग गरिएको जेसीबी हतारहतार बाहिर निकालिएको थियो भने माटो ओसार्ने टिपर र ट्याक्टरलाई पनि बीच बाटोबाटै फर्काइएको थियो ।
पछि प्रहरी र नगरपालिकाको टोली पनि उक्त स्थानमा आइपुग्यो । आलिया कन्स्ट्रक्सन प्रालिका सञ्चालक सदाक हुसैनले नगरपालिकासँग ठेक्का लिएर माटो उत्खनन गरेको दाबी नगरपालिकाको टोली आएपछि झुटो भएको प्रमाणित भयो । उनले त्यसपछि यस विषयमा बोल्न चाहेनन् बरु के गर्नसक्ने हो गर्दा हुन्छ भन्ने खालको रवाफ प्रस्तुत गरेका थिए ।
नगरपालिकासँग अनुमति नलिइ उनले खोला नजिक जेसिबी प्रयोग गरेर १५ फिटसम्म माटो काटेका थिए । अहिले पनि सो स्थानमा माटो उत्खनन भइरहेको छ । नगरपालिकाले करिब २०/२२ दिन अगाडि मापदण्ड विपरित माटो उत्खनन भएको जानकारी आएपछि जेसीबीको चाबी नियन्त्रणमा लिएको थियो । तर कुनै कारबाही नगरी छाडिएको थियो ।
नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष विजय कुमार चौधरीले भने, ‘माटो उत्खनन नगर्ने सर्तमा चाबी बुझाइएको थियो । फेरी उत्खनन थालेछन् । हामीलाई थाहा नै थिएन । पत्रकार आएपछि मात्रै थाहा पाइयो ।’ जग्गाधनी झरिलाल सरदारले आफूले २७ कठ्ठा जग्गाबाट माटो बेचेको बताए ।
उनले एक महिना देखि माटो उत्खनन् भइरहेको उल्लेख गरे । उनले मापदण्डका विषयमा आफूलाई कुनै जानकारी नभएको सुनाए । प्रवक्ता तथा वडाध्यक्ष चौधरीले मापदण्ड विपरित उत्खनन भइरहेको र नगरपालिकामा छलफल गरेर कारबाही गरिने बताएका थिए ।
त्यसको तीन दिनपछि चौधरीसँग यस विषयमा बुझ्दा अहिलेसम्म कुनै कारबाही नभएको र प्रक्रिया समेत नथालिएको जानकारी दिए । ‘कसैले कारबाहीको लागि नगरपालिकामा उजुरी पनि गरेको छैन’, चौधरीले भने, ‘मौखिक रूपमा भनेर केही हुँदैन । कारबाहीको लागि वरिपरिका जग्गाधनीले लिखित उजुरी दिनुपर्छ ।’
केही स्थानमा टेन्डर लागेको आडमा ठेकेदारले मनमौजी गरेको उनले उल्लेख गरे । उनले थपे, ‘नगरपालिकाले त्यो स्थानमा टेन्डर पनि लगाएको छैन । फेरी खन्न सुरु गरेको रहेछ । हामीले पुनः बन्द गराएका छौँ । कारबाहीको विषयमा कुनै प्रक्रिया अगाडि बढेको छैन । केही छिन रोकिन्छ, फेरी खन्न सुरु गरिहाल्छन् ।’
उनले नगरपालिकाले यस विषयमा खासै चासो नदिएको उल्लेख गरे । पुलिसलाई खबर गरेर पठाउँदा समेत माटो उत्खनन नरोकिएको उनले बताए । धेरै स्थानमा टेन्डर बिना नै मापदण्ड विपरित माटो उत्खनन भइरहेको उनको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन समेत नगरी १५ फिट भन्दा गहिरो खाडल बनाएर उत्खनन गरिएको छ । जसका कारण वरिपरिका बस्ती र खेतियोग्य जमिनमा पनि असर गर्ने नगरपालिकाको वन वातवरण तथा विपद् शाखाका प्रमुख बिमलनारायण चौधरीले बताए ।
‘ढुङ्गा, गिट्टी, बालुवा, नदीजन्य पदार्थ, माटो लगायत उत्खनन्का लागि वातावरणीय अध्ययन गर्नुपर्छ भन्ने कानुनी प्रावधानमै छ’, उनले भने, ‘यहाँ माटो उत्खनन हुँदै छ भन्ने थाहा पनि थिएन । यो मापदण्ड बिपरीत भइरहेको रहेछ ।’ खोला नदिको छेउमा यसरी उत्खनन गर्न नमिल्ने उनको भनाइ छ । उनले निजी जग्गा भएपनि नगरपालिकाको मापदण्ड अनुसार उत्खनन गर्नुपर्ने उल्लेख गरे । ‘मापदण्ड अनुसार उत्खनन भएको छैन’, उनले थपे, ‘निजी जग्गा हो । अवैध भन्ने या अवैध । हामीले पहिलो पटक त बन्द गराएका नै थियौँ ।’
निजी जग्गामा के भइरहेको छ भनेर नगरपालिकाले जवाफ दिन नसक्ने उनले बताए । उनले मापदण्ड विपरित उत्खनन भइरहेको बताए पनि कारबाहीका विषयमा प्रष्ट भन्न सकेनन् । व्यक्तिको निजी जग्गाबाट माटो बिक्रि गर्दा जग्गा धनिले कति घनफिट माटो बिक्रि गर्ने हो यकिन गरी नगरपालिकामा निवेदन दिनुपर्ने प्रावधान छ ।
तर सो स्थानको माटो उत्खनन्मा नगरपालिकासँग कुनै सम्झौता भएको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा ५ फिट गहिराइसम्म मात्र उत्खनन गर्न सकिने उल्लेख गरिएको छ । यस्तै राजमार्गको ५ सय मिटर दूरीभित्रको नदि सडक, पुलको १ किलोमिटर तल र ५ सय मिटर माथिको बालुवा र भरौट निकाल्न नपाइने नगरपालिकाको मापदण्डमा उल्लेख छ ।
हेर्नुहोस् भिडियो-