मोहन ढकाल/संगालोखबर


विराटनगर । हिजो भएको स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो ।

जसमध्ये ६ वडाध्यक्ष र १ पालिका अध्यक्षको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतपरिणाम भने सार्वजनिक हुन बाँकी छ । उपनिर्वाचनमा नेपाली काँग्रेसले दुई वडाध्यक्ष जितेको छ ।

Advertisement

नेकपा एमालेले पनि दुई वडाध्यक्ष जित्दा माओवादी केन्द्रले एक पालिका अध्यक्षसहित एक वडाध्यक्ष जितेको छ । स्वतन्त्र उम्मेदवारले एक स्थानमा वडाध्यक्ष जितेका छन् ।

००००००००००
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट केही महिना अगाडि मात्रै माओवादी प्रवेश गरेका माझीले ६ हजार ९६९ मत ल्याउँदै विजयी भए ।

काँग्रेसका बलराम सरदार ५ हजार ३३३ र एमालेका तुलसीराम विश्वास ४ हजार १५९ मत ल्याउँदै पराजित भए । ग्रामथानमा २०७४ मा नेकपा एमालेले जितेको थियो भने २०७९ मा नेपाली काँग्रेसले जितेको थियो । २०७९ मा काँग्रेसले टिकट नदिएपछि वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका माझी पराजित भए । २०७४ को निर्वाचनमा उनी मधेशी जनअधिकार फोरमबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

ग्रामथानको अध्यक्षमा २०७४ को निर्वाचनमा एमालेका शिव नारायण थारू माझी ४ हजार ७२० मत ल्याएर निर्वाचित भएका थिए । मधेशी जनअधिकार फोरमले ४ हजार ६६१ मत ल्याउँदा काँग्रेसका उममेदवारले ३ हजार १४३ मत ल्याएका थिए ।

२०७९ मा काँग्रेसका जय प्रकाश गच्छदार थारू ७ हजार ७ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका शिव नारायण माझी थारू ६ हजार ९३ र माओवादीका विजय कुमार सरदार २ हजार ७२७ मत ल्याएर पराजित भएका थिए ।

०००००००००
झापाको कनकाई नगरपालिका-६ मा २०७९ को निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओली उपनिर्वाचनमा विजयी भएका छन् । उनी नेकपा एमालेका दीर्घ बहादुर थापासँग ६८ मतले पराजित भएका थिए ।

थापा ५०८ मत ल्याएर विजयी भएका थिए । २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रहेका ओली नै निर्वाचित भएका थिए । त्यसबेला एमालेले ३३२ र माओवादीले ३०४ मत पाएको थियो ।

काँग्रेसले टिकट नदिएपछि २०७९ को चुनावमा पनि स्वतन्त्र उम्मेदवार बनेका ओलीले उपनिर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

०००००००००००
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ मा एमाले उम्मेदवार कुमारी सावादेन ५५३ मत ल्याएर विजयी भएकी छन् । माओवादी उम्मेदवार अम्वी साउदेनले २५१ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवार भीम कुमार लक्सम्वाले २१८ मत ल्याए ।

२०७४ को निर्वाचनमा एमालेका सन्तोष कुमार चाम्लिङ निर्वाचित भएका थिए । उनले ३२२ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवारले २२२ मत पाएका थिए । यस्तै माओवादीका उम्मेदवारले १८६ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा नेपाली काँग्रेसका दील प्रसाद वोखिम ४०३ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार कुमारी सावादेन ३९९ मत ल्याउँदै पराजित भएकी थिइन् ।  अर्थात वोखिमसँग सावादेन ४ मतले पराजित भएकी थिइन् ।

०००००००००००
तेह्रथुमको लालिगुराँस नगरपालिका-८ को वडाध्यक्षमा ४४० मत ल्याउँदै काँग्रेस उम्मेदवार नगेन्द्र लिम्बू निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार बुद्ध बहादुर लिम्बूले ३६० मत ल्याउँदा माओवादीका कुमार विश्वकर्माले २६ मत पाए ।

२०७४ को निर्वाचनमा एमालेका तुलसी राम खनाल ४३२ मतका साथ विजयी भएका थिए । नेपाली काँग्रेसले ३८३ मत प्राप्त गर्दा माओवादीले २८ मत मात्रै पाएको थियो ।

यस्तै २०७९ को निर्वाचनमा काँग्रेसकै तेजमान लिम्बू ५२४ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका तुलसी राम खनाल ४१३ मत ल्याउँदै पराजित भएका थिए ।

००००००००००
सुनसरीको गढी गाउँपालिका-६ मा काँग्रेसका तेतर साहु ८१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । माओवादीका कुशेश्वर खेरवारले ७९४ मत प्राप्त गर्दा एमालेका शन्तु उरावले ७७० मत प्राप्त गरे ।

२०७४ को निर्वाचनमा गढीमा काँग्रेसले नै जितेको थियो । काँग्रेसका सुगना झागड ४०१ मत ल्याएर विजयी हुँदा एमालेका कुशेश्वर खेरवारले ३१८ र माओवादीका अशोक यादवले ६८ मत ल्याएका थिए ।

२०७९ को निर्वाचनमा एमालेका उम्मेदवार सदानन्द उराँव झागर ७१२ मत ल्याएर विजयी हुँदा माओवादीका खेरवारले ४२४ मत प्राप्त गरेका थिए । काँग्रेसका तिलेश्वर चौधरीले ४१६ मत ल्याएका थिए ।

००००००००००
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगा बहादुर तामाङ ३९९ मत ल्याएर निर्वाचित भएका छन् । काँग्रेसका धनश्याम दाहालले १७७ मत प्राप्त गर्दा माओवादीका मान बहादुर सुनुवारले २३ मत ल्याए ।

२०७४ मा मोलुङ–५ मा काँग्रेसका टंकनाथ दाहाल ४३१ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका दल बहादुर सुनुवारले २७८ मत पाउँदा माओवादीका घाश्याम दाहालले ४४ मत प्राप्त गरेका थिए ।

२०७९ मा काँग्रेसका गोपि कृष्ण कार्की ३८४ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका गोपाल नेपालले ३७० मत ल्याउँदा माओवादीका मान बहादुर सुनुवारले ३० मत पाएका थिए ।

०००००००००००
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा २०७९ मा वडाध्यक्षमा पराजित भएका माओवादीका उम्मेदवार नविन कुमार वान्तवा राई उपनिर्वाचनमा ९२३ मत ल्याएर निर्वाचित भएका छन् । एमालेका लक्ष्मी नारायण चौधरीले ६०८ मत प्राप्त गर्दा काँग्रेसका संजिव काफ्लेले ३५९ मत प्राप्त गरे ।

२०७४ को निर्वाचनमा त्रियुगा–१२ मा एमालेका जयविक्रम राई ५४० मत ल्याएर निर्वाचित भएका थिए । माओवादीका विष्णु बहादुर मगरले ३५९ मत ल्याउँदा काँग्रेसका सरस्वती महतराज क्षेत्रीले २६५ मत ल्याएकी थिइन् ।

२०७९ को निर्वाचनमा काँग्रेसका चुडाराज काफ्ले ४३९ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका रमेश राउत क्षेत्रीले ४०८ मत पाउँदा माओवादीका नविन कुमार वान्तवा राईले ४०४ मत ल्याएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!