मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगरको बरगाछीमा सवारी साधन व्यवस्थित रूपमा सञ्चालन गर्न आजदेखि ट्राफिक लाइट औपचारिक रूपमा प्रयोगमा ल्याइएको छ । केही समयअघि जडान गरिएको लाइट परीक्षणपछि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।

Advertisement

सवारी साधनको बाक्लो चाप हुने यस स्थानमा ट्राफिक लाइट सञ्चालन भएपछि दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ । स्थानीय गोविन्द खड्का भन्छन्, ‘बरगाछी दुर्घटनाको केन्द्रजस्तै बनेको थियो । यहाँ ट्राफिक लाइट सञ्चालनमा आएपछि अब सडक पार गर्न एकदम सजिलो भएको छ । यसलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्न आवश्यक छ ।’

विराटनगरका अन्य स्थानमा पनि ट्राफिक लाइट जडान गर्न आवश्यक भएको उनले बताए । उनी भन्छन्, ‘यहाँबाट बाटो काट्न एकदमै समस्या थियो । विद्यार्थी र वृद्धवृद्धालाई त झनै समस्या थियो । यसको प्रभावकारी कार्यान्वयनका लागि जनचेतना पनि आवश्यक छ ।’

लाइट सञ्चालनमा आएको पहिलो दिन भएकाले पनि पैदलयात्री र सवारी चालक झुक्किएको उनले बताए । ट्राफिक प्रहरीले यसका लागि सचेतना जगाउनु पर्ने र स्वयं पैदलयात्री र सवारी चालक पनि सचेत हुनुपर्ने उनको सुझाव छ ।

ट्राफिक प्रहरीले लाइटको विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम गर्नुपर्ने स्थानीय शिवहरी दाहालले बताए । उनले भने, ‘सबैलाई नियम थाहा नहुन सक्छ । कतिपयलाई नौलो भएर पनि जानकारी नहुन सक्छ । यसका लागि ट्राफिक प्रहरीको सङ्ख्या थपेर भएपनि पनि केही दिन सचेतनामूलक कार्यक्रम गर्दा प्रभावकारी हुन्छ ।’

यसले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । अर्का स्थानीय जयप्रकाश साहले ट्राफिक लाइट सञ्चालनमा आएसँगै बरगाछीको भद्रगोल सवारी आवागमन सहज भएको बताए । उनले भर्खरै सुरु भएकाले केही दिनमा अवस्था सहज हुने विश्वास व्यक्त गरे ।

विराटनगरका राजकुमार अधिकारी दुर्घटना न्यूनीकरणका लागि ट्रापिक लाइटले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । उनले भने, ‘मैले निकै समय नियालेर हेरेँ । तर सवारी चालकमा कुन बत्तीमा रोकिने र कुनमा जाने भन्ने ज्ञानको कमी देखेँ । पैदलयात्री पनि जेब्राक्रसबाट हिँडेको देखिएन । यसलाई प्रभावकारी बनाएर अगाडि बढेको खण्डमा राम्रो हुने उनी बताउँछन् ।’

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा ट्राफिक लाइट जडान गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!