विराटनगर । विराटनगर महानगरलाई डुबानमुक्त बनाउन महानगरपालिकाले नाला र पैनी तथा ढल सफाइ गर्न थालेको छ । विगतमा समयमै नाला, पैनी र ढल सफा नगर्दा सामान्य वर्षामै महानगरका विभिन्न क्षेत्र जलमग्न हुने गरेको थियो ।
कोशी प्रदेश संसद भवन अगाडिबाट सुरु गरिएको ढलको सफाइ विभिन्न वडामा जारी रहेको महानगरले जनाएको छ । मेयर नागेश कोइरालाले बिहीबार विराटनगर–६ स्थित केशलिया रोडको नालाको सफाइको अनुगमन गरेका थिए ।
वडाध्यक्ष हरिश्चन्द सहनी र भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापासहित पुगेका मेयर कोइरालाले नालासँगै ह्युपाइप र कल्भर्टसमेत सफा गर्न निर्देशन दिए ।
मेयर कोइरालाले स्थानीयले प्लाष्टिक, बोतल, बोरा, कार्टुनलगायतका सामान नालामा फ्याँक्दा सफाइमा समस्या हुने गरेको बताए । त्यस्ता फोहर नालामा नफ्याँक्न उनले आग्रह गरे ।
समयमै सफाइ नगर्दा नालाको पानी सडकमा आउँदा डुबान हुने गरेको छ । सफाइका क्रममा पानीको बोतल, प्लाष्टिक, पुरानो जुत्ता, चप्पल, बियर र रक्सीका बोतल अत्यधिक भेटिएको महानगरको सरसफाई शाखाका किरण न्यौपानेले जानकारी दिए ।