विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरिएको हो ।

Advertisement

उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डल पुरस्कृत भएका छन् । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता घिमिरे, अनिलकुमार साह, यदुनन्दन कुमार साहलाई पनि पुरस्कृत गरिएको छ ।

उत्कृष्ट फिल्ड कर्मचारी कल्पनाकुमारी चौधरी, जेसनकुमार दास र चन्दनकुमार सिंहलाई पुरस्कृत गरिएको संस्थाले जनाएको छ । उत्कृष्ट कार्य गरेबापत कार्यालय सहयोगी सविताकुमारी गोढी, प्राविधिक कर्मचारी कुन्दनकुमार सिंह, रिसेप्सनिष्ट गीता खत्रीलाई पुरस्कृत गरिएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७९–८० को उत्कृष्ट शाखा घोषित भएको अमाही, राप्ती र विराटनगर शाखालाई पनि पुरस्कृत गरेको छ । कोशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखामा एक हजार आठ जना कर्मचारी कार्यरत छन् । ती मध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको हो ।

उत्कृष्ट कर्मचारी र शाखालाई जीवन विकासका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, जीवन विकास लघुवित्तका वित्तीय संस्थाका अध्यक्ष बिक्रमराज सुवेदी, सञ्चालकहरु गोकर्ण खतिवडा, श्यामचन्द्र खतिवडा र प्रकाशकुमार श्रेष्ठले प्रमाणपत्र तथा मेडल प्रदान गरे ।

आर्थिक वर्षको तेस्रो त्रैमासमा उत्कृष्ट कार्य गर्ने शाखाहरुलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सांसद मण्डलले समाजकेन्द्रित गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरे । लघुवित्त ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले देश बनाउने अभियानमा केन्द्रित हुनुपर्ने बताए ।

जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदीले समाज परिवर्तनका लागि जीवन विकास सुरु भएको बताए । संस्थाका सञ्चालक गोकर्ण खतिवडाले पछिल्लो केही समययता देशको वित्तीय क्षेत्र नाजुक अवस्थामा रहँदा लघुवित्तले आफ्नो स्थानबाट निरन्तर योगदान गरिरहेको बताए ।

कार्यक्रममा लघुवित्तका सञ्चालकहरु श्यामचन्द्र खतिवडा र प्रकाशकुमार श्रेष्ठले लघुवित्तले ग्रामीण अर्थतन्त्रको विकासका लागि घरदैलोमा पुगेर वित्तीय सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताए । जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!