मोहन ढकाल/संगालोखबर

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ का किशोरानन्द चौधरीे ६० वर्ष पुगे । उनले दैनिक ज्याला मजदुरीको काम गर्न थालेको ४० वर्ष भयो । प्रत्येक दिन उनी विराटनगरको बरगाछी चोकमा भेटिन्छन् ।

Advertisement

आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन बिहान ८ बजे सदाझैँ उनी बरगाछी चोकमै भेटिए । बिहान ७ बजे बरगाछी आइपुगेका चौधरी कोही कामको लागि लिन आउँछ भन्ने आशमा तातो घाममा कुरेर बसिरहे ।

९ बजेसम्म पनि कोही नआएपछि निराश हुँदै अब एकछिनमा घर फर्किनुपर्ला भनेर साथीहरूलाई भन्दै थिए ।

दैनिक बर्जुदेखि बिहान ७ बजे बरगाछी आइपुग्ने उनी महिनामा लगभग १५ दिन काम पाउँछन् भने अरु दिन रित्तो हात घर फर्कन्छन् । उनी भन्छन्, ‘कहिले दिनमा हजार पन्ध्र सय कमाइ हुन्छ । कहिले कामै पाइँदैन ।’

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा उनलाई भने यसले छुन सकेको छैन् । श्रमिकको हकहितका लागि भनेर खोलिएका विभिन्न संगठनहरूले आफूजस्ता मजदुरका लागि केही गर्न नसकेको उनी सुनाउँछन् ।

सोही स्थानका रविन्द्र यादवको दैनिकी पनि उस्तै छ । सधैँझैँ आज बिहान बरगाछीमा भेटिएका उनी कसैले कामका लागि लिन आउँछ कि भनेर कुरिरहेका थिए । उनी भन्छन्, ‘जे काम भेटिन्छ त्यही गर्ने हो । तर काम पाउनै मुस्किल पर्छ । महिनामा १०–१२ दिन काम पाइयो भने अरु दिन त्यत्तिकै फर्किनु पर्छ ।’

३० वर्षदेखि उनी ज्याला मजदुरीको काम गर्दै आएका छन् । ‘यो अवधिमा धेरै पटक श्रमिक दिवस मनाइए होला, उनले भने, ‘तर श्रमिकको हितका लागि कुनै काम भएका छैनन् । वर्षमा एक पटक श्रमिकको हकहितका लागि भनेर विभिन्न कार्यक्रम गर्छन् । तर वास्तविक श्रमिकका पीडा सधैँ उस्तै छन् ।’

बर्जुकै राजकुमार चौधरीको पीडा पनि उस्तै छ । अर्का मनदुर शिवनारायण चौधरी उमेरले ६० वर्ष पुगे । उनले ज्याला मजदुरीको काम गर्न थालेको लगभग ३६ वर्ष भयो । उनी सुनाउँछन्, ‘त्यसबेला दैनिक ७ रुपैयाँमा काम गरिन्थ्यो । अहिले ७–८ सयसम्म कमाइ हुन्छ । तर महिनामा १०–१५ दिनमात्रै काम हुन्छ ।’

मजदुरको समस्या समाधानका लागि कुनै पनि निकायले नारामा बाहेक काम नगरेको उनले सुनाए । उनी भन्छन्, ‘विभिन्न संगठनहरू त छन् । तर ती पनि आफ्नो स्वार्थमा मात्र लिप्त भए । एक दिन कार्यक्रम गरेर मात्र मजदुरका समस्या समाधान हुँदैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!