संगालोखबर संवाददाता

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

Advertisement

विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ ।

एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट मिलन राईले सान्त्वना गोल फर्काए ।

यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला साइनो स्पोर्ट्स क्लव रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

सुरूवाती अग्रता घरेलु टिम पेमा युवा क्लबले लियो । खेल सुरु भएको ११ औं मिनेटमा मिलन लिम्बुले गोल गरी पहिलो हाफमा सुरूवाती अग्रता दिलाए । सुरज सुब्बाले निकालेको क्रस पासलाई मिलनले गोलमा परिणत गरे ।

घरेलु टिम पेमाले गोल गरेको दुई मिनेट बित्न नपाउँदै एपीएफले गोल गरी खेल बराबारीमा फर्काए । खेल सुरु भएको १३औं मिनेटमा एपीएफका भरत कपालीले गोल गरी खेल बराबरीमा ल्याए । पेमाका गोलकिपर अरुणले टच गरेर रिबाउन्ड भएको बललाई भरतले आकर्षक गोल गरे ।

पहिलो हाफमा १–१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि आक्रामक खेल्दै एपीएफका दिसन राईले ६० औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए ।

हरि कार्कीले डिबक्स भित्रबाट दिएसको क्रस पासलाई दिसनले जाली चुमाए । अग्रता दोब्बर बनाएको १४ मिनेट बित्न नपाउँदै धनबहादुर श्रेष्ठले गोल गरी टिमको जित सुनिश्चत गरे । दिसन राईले निकालेको पासलाई धनबहादुरले गोल गरेका थिए ।

पेमा युवा क्बलले बारम्बार पाएको गोल गर्ने अवसर खेर फाल्दा उपविजेता बन्यो । उपविजेता बनेको पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । हाइस्कोर एपीएफकै हरि कार्की भए । उनले खेलभरीमा तीन गोल गरे । बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुनामेन्ट अफ द इयर पेमा युवा क्लबका कोमल खवास घोषित भए ।

वैशाख ७ गते सुरु भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागी रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

प्रतियोगिताको विजेता हुने टिमलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!