रबिन कटेल/संगालोखबर

धनकुटा । मालबाहक सवारी साधन पिकअपमा नियमतः यात्रु चढाउन मिल्दैन । सामान ओसारपसार गर्ने प्रयोजनको साधन भएकाले चालकसहित अगाडिको सिटमा दुई जनामात्र बस्न पाइन्छ । तर, धनकुटाको पाख्रीवास-१० स्थित चुङमाङमा आइतबार दिउँसो २२ जना यात्रु सवार मालबाहक पिकअप दुर्घटना भएपछि यात्रुको ज्यानमाथि भइरहेको खुलेआम खेलवाड उदाङ्गिएको छ ।

Advertisement

हिले बजारबाट हुटमा समेत खचाखच यात्रु बोकेर चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप दिउँसो करिब ३ बजे दुर्घटना हुँदा पाख्रीवास-१० शिवालयकी ९ वर्षीया संस्कृति राईको मृत्यु भयो भने १५ जना घाइते भएका छन् । ओरालो बाटोमा टायर पड्किएर ब्रेक नलागेपछि पिकअप झण्डै ४० मिटर तल खसेको ट्राफिक प्रहरीको भनाई छ । पिकअपमा अत्याधिक यात्रुमात्र हैन सामान पनि उत्तिकै थियो । ‘ओभरलोड’ ले टायर पड्किएको अनुमान गरिएको छ । टनाटन सामान र खचाखच यात्रु बोकेर जाने क्रममा टायर पड्किएर गाडी दुर्घटना भएको प्रत्यक्षदर्शी हरीप्रसाद पौडेल बताउँछन् । उनी भन्छन्, ‘पिकअपको क्षमता जत्तिको त लगभग सामान नै थियो, त्यसमाथि भित्र र हुटमा पनि मान्छे हालेको रहेछ, ओभरलोडले नै टायर पड्किए गाडी दुर्घटना भएको जस्तो देखिन्छ ।’

हिले-चुङमाङ सडकमा दैनिक यसरी नै चार वटा मालबाहक पिकअपले नियम विपरित यात्रु ओसारपसार गर्ने गरेका छन् । पिकअपको सामान बोक्ने डालोमा सिट लगाएर खुलेआम यात्रु ओसारपसार गर्दा पनि नियामक निकाय मौन छ । मालबाहक साधनले यात्रु बोक्न नपाउने ट्राफिक प्रहरी प्रमुख चन्द्रकुमार श्रेष्ठ बताउँछन् । पिकअपले मान्छे बोक्ने गरेको थाहा नभएकाले कारबाही नगरिएको उनको तर्क छ । ‘पिकअपले यसरी खचाखच यात्रु बोकेर हिड्ने गरेको थाहा थिएन, यो घटनाले थाहा भयो,’ श्रेष्ठ भन्छन्, ‘अब यो विषयमा अनुगमन गरेर कडाइ गछौँ ।’

हिले–चुङमाङ सडकमा मात्र हैन, धनकुटाका अधिकांश कच्ची सडकमा वर्षौ अघिदेखि मालबाहक सवारी साधनले खचाखच यात्रु राखेर खुलेआम यात्रु ओसारपसार गर्ने गरेका छन् । यात्रु नै हाल्न नमिल्ने गाडीमा खचाखच यात्रु हालेर यात्रा गर्नाले दुर्घटनाको जोखिम बढिरहेको छ ।

यसअघि प्रकाशित…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!