संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-१० स्थित चुङमाङमा आइतबार दिउँसो भएको पिकअप दुर्घटनामा परी मृत्यु भएकी बालिकाको पहिचान खुलेको छ । मृतक बालिका पाख्रीवास नगरपालिका-१० शिवालयकी ९ वर्षीया संस्कृति राई रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

Advertisement

हिलेबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप दिउँसो करिब ३ बजे भारती माध्यमिक विद्यालय नजिक दुर्घटना हुँदा संस्कृतिसहित १६ जना घाइते भएका थिए ।

जिल्ला अस्पतालमा उपचारका क्रममा संस्कृतिको मृत्यु भएको हो । सुरुमा उनको पहिचान नखुलेको भएपनि पछि बुझ्ने क्रममा पत्ता लागेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । बाँकी १५ जना घाइतेको धनकुटा जिल्ला अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

मृतक संस्कृतिकी आमा सरिता तामाङ राई पनि घाइते छन् । आमा-छोरी घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

ब्रेक फेल भएर पिकअप दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ । दुर्घटनाग्रस्त पिकअप सडकबाट करिब ४० मिटर तल खसेको छ । चालकसहित दुई जना मात्र सिट क्षमताको सो मालबाहक पिकअपमा २२ जना सवार थिए । घटनापछि प्रहरीले पिकअप चालक पाख्रीबास-१० का ५५ वर्षीय राममणि राईलाई नियन्त्रणमा लिएको छ । 

यसअघि प्रकाशित…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!