रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा दुर्घटनाग्रस्त टिपरले सडक ढाकेपछि शनिवार साँझबाटअवरुद्ध भएको कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड अझै खुलेको छैन । एकै ठाउँमा चार वटा गाडी दुर्घटना भएर सडक ढाकेपछि साँझ करिब ७ः१५ बजेबाट सडक अवरुद्ध भएको हो ।

Advertisement

१४ घण्टादेखि अवरुद्ध सडक अझै नखुल्दा दर्जनौं सवारी साधन बीचबाटोमै रोकिएर बसेका छन् । यात्रुहरूको विचल्ली भएको छ । सो स्थानमा केही दिन अघि गाडी दुर्घटना भएर सडक किनारमा पल्टिएको थियो । त्यसपछि लगातार थप तीन वटा गाडी सोही स्थानमा दुर्घटना भएका छन् । शनिवार साँझ पूर्व राज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिसाबाट आउँदै गरेको प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपरले ठक्कर दिएर सडक ढाकेपछि सवारी आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउँन विराटनगरबाट गएराती क्रेन ल्याइएको छ । तर, सो क्रेनले दुर्घटनाग्रस्त गाडीहरू पन्साउन नसकेपछि सडक खुल्न ढिलाई भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । उनका अनुसार गाडी पन्साउनका लागि अझै बढी क्षमताको क्रेन बोलाइएको छ । ‘राती आएको क्रेनले गाडी पन्साउन सकेन, अहिले विराटनगरबाट फेरि अर्को ठूलो क्रेन बोलाएका छौं,’ डीएसपी महर्जनले संगालोखबरसँग भने ‘सडक खुलाउँनका लागि हामीले निरन्तर प्रयास गरिरहेका छौं, अब धेरै समय नलाग्ला ।’

यसैबीच, शनिवार बिहान इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गर्दा सोही स्थान नजिकै विद्यार्थी बोकेको बस पनि दुर्घटना भएको थियो । योसँगै तीन दिनयता कोलबोटेमा पाँच वटा गाडी दुर्घटना भइसकेका छन् । ओरालो र घुम्ती सडक भएको सो स्थानमा यसअघि पनि पटक-पटक गाडी दुर्घटना हुने गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!