पत्रपत्रिका खवर

काठमाडौं । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव ९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड मात्र रहेको छ । २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेको थियो । केन्द्रीय बैंकका अनुसार फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव २ प्रतिशत रहेको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकसहितसँग रहेको विदेशी मुद्रामा भने २०७८ फागुन मसान्तसम्ममा १६ दशमलव ३ प्रतिशतले कमी आएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव ३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव ५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।

– सात महिनालाई धान्न पुग्ने मात्र विदेशी मुद्रा सञ्चिति

– मुलुकको चालू खाता पनि घाटामा

रेमिट्यान्स कम मात्र आउनु, निर्यातमा कमी हनु, आयात बढ्नु, वैदेशिक अनुदान र लगानी नआउनुजस्ता कारणले विदेशी मुद्रा सञ्चिति घट्दै गएको हो । वैदेशिक मुद्रा सञ्चितिमा मात्र नभई अन्य क्षेत्रमा पनि संकट उत्पन्न हुन थालेको संकेत राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

आठ महिनामा शोधनान्तर स्थिति थप घाटामा गएको छ । चालू आर्थिक वर्षको फागुनसम्म मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब घाटामा रहेको छ । माघसम्म यस्तो घाटा २ खर्ब ४७ अर्ब थियो । फागुनमा मात्रै शोधनान्तर स्थिति थप ११ अर्ब घाटामा गएको हो । विदेशी मुद्रा आउनेभन्दा बाहिरिने बढ्दा शोधनान्तर घाटा बढ्ने गर्छ ।

अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तर नै भुक्तानी सन्तुलन हो ।

चालू खाताले देखाउँछ अर्थतन्त्र संकटमा
सरकारको चालू खाता पनि उच्चदरले बढेको छ । अहिले ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । देशको चालू खाता घाटा जीडीपीको १० दशमलव ८५ प्रतिशत पुगेको छ । चालू खाता घाटा ८ प्रतिशतभन्दा माथि गयो भने त्यसलाई अर्थतन्त्र संकटमा गएको भनेर बुझ्नुपर्नेहुन्छ । नेपालको अहिले कुल ग्राहस्थ उत्पादन अर्थात जीडीपी ४२ खर्ब ६६ अर्बको रहेको छ । आठ महिनामा पेट्रोलियम पदार्थ, यातायातका साधन र औद्योगिक सामग्रीको उच्च आयातले घाटा अकासिएको हो ।

मूल्यवृद्धि २६ प्रतिशतसम्म बढ्यो
अहिले मूल्यवृद्धि पनि बढेको देखिएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७ दशमलव १४ प्रतिशत रहेको छ । यो भनेको गत वर्ष १ सय रुपैयाँले आउने सामानलाई १ सय ७ रुपैयाँ पर्नु हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव ०३ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव ८४ प्रतिशत रहेको छ ।

२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६ दशमलव ३४ प्रतिशत, १३ दशमलव ९६ प्रतिशत, ११ दशमलव ३० प्रतिशत र १० दशमलव ३० प्रतिशत रहेको छ । साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६ दशमलव २७ प्रतिशत, ९ दशमलव ०१ प्रतिशत र ८ दशमलव ७९ प्रतिशत रहेको छ

आयात पनि बढ्यो, निर्यात पनि बढ्यो
यस अवधिमा आयात ३८ दशमलव ६ प्रतिशतले र निर्यात ८२ दशमलव ९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८÷७९ को आठ महिनामा कुल वस्तु निर्यात ८२ दशमलव ९ प्रतिशतले वृद्धि भई १४७ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४ दशमलव २ प्रतिशत र २९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११ दशमलव शून्य प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलंैचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ दशमलव १ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८ दशमलव १ प्रतिशत, ३६ दशमलव ७ प्रतिशत र ७५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुनलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कञ्चनपुर, मेची, र नेपालगन्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ दशमलव ६ प्रतिशतले बढेको थियो ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १ दशमलव ७ प्रतिशत र अमेरिकी डलरमा ३ दशमलव शून्य प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च ६७५ अर्ब ३० करोड र राजस्व परिचालन ६८४ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

निक्षेप र कर्जा पनि बढ्यो
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४ दशमलव १ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १२ दशमलव ८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव शून्य प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर २२ दशमलव २ प्रतिशत रहेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १ दशमलव ७ प्रतिशत र अमेरिकी डलरमा ३ दशमलव शून्य प्रतिशतले घटेको छ । संघीय सरकारको खर्च ६ खर्ब ७५ अर्ब ३० करोड र राजस्व परिचालन ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ३ दशमलव १ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव ७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव शून्य प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर २२ दशमलव २ प्रतिशत रहेको छ । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!