
धनकुटा । धनकुटामा बलात्कार आरोपमा शनिवार एकैदिन दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रकैलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटा नगरपालिका–१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । सोही बालिकालाई बलात्कार गरेको आरोपमा गत बुधबार निगालेकै १९ बर्षीय निकेश तामाङ पनि पक्राउ परेका छन् । ती बालिकालाई निकेशले साउन २७ गते गाउँकै खाली घरमा लगेर बलात्कार गरेको र त्यसको भालिपल्ट बिमलले पनि उनैलाई बलात्कार गरेको आरोप छ ।
निकेशले ती बालिकासँग शरिरिक सम्पर्क भएको कुरा बिमललाई सुनाएपछि उनले पनि भोलिपल्ट जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिका राती पनि घरमा नआएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको हो । घटनाको ९ दिनपछि निकेश र ११ दिनपछि बिमल पक्राउ परेका हुन् ।
मुलुकी अपराध संहिता–२०७४ मा १८ बर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै शारिरिक सम्पर्क गरेपनि जबरजस्ती करणी गरेको मानिने र १४ बर्षदेखि १६ बर्ष भित्रका बालिका करणी गर्नेलाई १२ बर्षदेखि १४ बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
हाडनाता करणी आरोपमा ११ महिनापछि पक्राउ
हाडनाता करणी आरोपमा धनकुटाको पाख्रीबासबाट शनिवार एक युवक पक्राउ परेका छन् । परिवार भित्रकै महिलालाई बलात्कार गरेको आरोपमा १८ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंमा बसेका बेला करिब ११ महिना अघि उनले आफन्तलाई जबरजस्ती करणी गरेको आरोप छ ।
अभियुक्तलाई पक्राउ गरी काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा पठाईएको धनकुटाका प्रहरी प्रमुख अधिकारीले बताए । एसपी अधिकारीका अनुसार काठमाडौंमै घटना भएको र उतै मुद्दा दर्ता भएकाले पठाईएको हो ।
परिवार भित्रकै घटना भएकाले पीडकको परिचय खुलाउँदा पीडितको परिचय पनि खुल्ने हुनाले प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखेको छ । यसअघि धनकुटा नगरपालिका–८ टेकुनालाकी १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गत मंगलबार स्थानीय २२ बर्षीय दिलकुमार राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
योसँगै धनकुटामा बिगत एक साता यता बलात्कारका घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।
यो पनि हेर्नुहोस्…
धनकुटाको निगालेमा बलात्कार आरोपमा एक जना पक्राउ















