संगालोखबर


धनकुटा । धनकुटाको हिलेमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका आठ जनाविरुद्ध जुवा ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।आइतबार राति ८ बजे हिलेका सिताराम श्रेष्ठको घरमा तास खेल्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूविरुद्ध पाँच दिनको म्याद थप भएको हो ।

‘पक्राउ परेका ८ जनाविरुद्ध जुवा ऐन अन्तरगत पाँच दिनको म्याद थप भएको छ’, धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले संगालोखबरसँग भने, ‘म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।’

पर्नेमा हिलेका ५२ वर्षीय मोहन बहादुर बिक, ४५ बर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ, ४४ वर्षीय तेजबहादुर मगर र ५३ वर्षीय रमेश भण्डारी छन् । त्यस्तै धनकुटा-२ का ३२ वर्षीय दिपेन्द्र मगर, धनकुटा-१० का ५० वर्षीय रमेश कार्की र महालक्ष्मी-८ का ३६ वर्षीय रामकाजी बिकलाई तासको खालबाट पक्राउ गरिएको थियो ।

तासको खालबाट १ लाख १४ हजार ५५० नगदसँगै ४ बुङ तास र ५, २०, ५० र ५०० लेखिएको गोटीहरू पनि फेला परेका थिए । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार जुवा खेल्ने वा खेलाउने व्यक्तिलाई पटक हेरेर सजाय र जरिवाना हुने व्यवस्था छ ।

सोही अनुसार उनीहरूलाई कारबाही हुने प्रहरीले जनाएको छ । पहिलो पटक पक्राउ परेमा ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यस्तै दोस्रो पटक पक्राउ परेमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र तेस्रो पटक वा सोभन्दा बढी पक्राउ परेमा हरेक पटक थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था छ । केही अवस्थामा भने ३ वर्षसम्मको कैद सजाय पनि हुन सक्ने व्यवस्था छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!