गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विराटनगरको सेन्ट्रल मल भन्दा उत्तरमा रहेको लाइफ स्टाइल चाइना सुपर मार्केट १६० सपबाट आज साँझ प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपालीको नाममा पसल दर्ता गरी आफैले व्यवसाय गरेको आरोपमा चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘एभरपिक सप्लायर्स’ नाममा दर्ता रहेको सो पसलमा घरायसीसहित विभिन्न सामान १६० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले पसल अनुगमन गरेको थियो ।

सो क्रममा राधिका बस्नेत कार्कीको नाममा पसल दर्ता रहेको भेटिएपनि कार्कीले नभई चिनियाँ नागरिकले सो पसल सञ्चालन गर्दै आएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । ‘अनुगमनका क्रममा नेपालीको नाममा पसल दर्ता गरेर चिनियाँ नागरिकले पसल गर्दै आएको भेटिएपछि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी मिश्रले संगालोखबरसँग भने, ‘उहाँलाई अध्यागमन विभाग काठमाडौँ पठाउने तयारी भइरहेको छ ।’

यसअघि असोज ८ गते सेन्ट्रल मलमा रहेको ‘योनो मार्ट’ सञ्चालन गर्ने चिनियाँ नागरिक जिङ्सियान सिएलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!