
धनकुटा । धनकुटा नगरपालिका–८ टेकुनालामा एक बालिका बलात्कृत भएकी छन् । गत शनिवार दिउँसो करिब १ बजे स्थानीय जंगलमा १० बर्षीया बालिका बलात्कृत भएकी हुन् ।
घटनापछि पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । बलात्कारमा संलग्न भएको आरोपमा स्थानीय २२ बर्षीय दिलकुमार राईलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार बालिका र राईबीच चिनजान र फोन सम्पर्क थियो । सोही आधारमा राईले ती बालिकालाई जंगलमा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ । परिवारका सदस्यले बालिकालाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेको हो ।
बालिकाको परिवारले प्रहरीमा जाहेरी दिएको थाहा पाएपछि राई फरार थिए । उनलाई घटना भएको तीन दिनपछि मंगलबार गाउँबाटै प्रहरीले पक्राउ गरेको हो । उनीबिरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरी म्याद थप गरेर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















