आवधिक निर्वाचन लोकतन्त्रको गहना हो । सबै लोकतान्त्रिक राष्ट्रहरूमा प्रत्येक चार वा पाँच वर्षमा निर्वाचन हुनै पर्छ । जनताका प्रतिनिधिहरूले शासनको बागडोर सम्हाल्ने चलन लोकतन्त्रमा रहिआएको छ । सिक्ने, सिकाउने र प्रयोगमा ल्याउने निरन्तर प्रक्रिया हो । लोकतान्त्रिक अभ्यासमा हामी सानै छौं । विश्वका केही मुलुकहरूमा सयौं वर्षअघि लोकतान्त्रिक अभ्यास सुरू भएको पाइन्छ हाम्रो देशमा केही दशक अघिदेखि मात्र लोकतान्त्रिक अभ्यासको इतिहास पाइन्छ । ढिलै भए पनि हाम्रो पुस्ता र भावी पुस्ताका लागि सुधारिएको लोकतान्त्रिक अभ्यास गरिएकोप्रति हामी हाम्रा अग्रजहरूलाई धन्यवाद दिनै पर्छ ।
निर्वाचन जनमत लिने सहज प्रक्रिया हो । जनमतद्वारा शासन प्रणाली सञ्चालन हुने सर्वविदितै छ । २०७० साल मंसिर ५ गतेको दोस्रो संविधानसभा निर्वाचनले २०७४ साल माघ ७ गतेभित्र संसद र प्रदेश विधान मण्डलको निर्वाचन गरी सक्न जनादेश दिएको थियो । सोही अनुसार राजनीतिक दलहरू र नेताहरूले समय सीमा भित्रै दुबै निर्वाचन सफल बनाएकोमा नेपाली जनता खुशी छन् । आवधिक निर्वाचनले ताजा जनमत प्राप्त हुन्छ । ताजा जनादेश अनुसार पाँच वर्षसम्म जनप्रतिनिधिले जनताका आवश्यकता, चाहना, विकास र प्रगति गर्नुपर्ने जरूरी देखिन्छ । जनताको अभिमतलाई विश्वासघात गर्नु हुँदैन । जनता जनार्दन हुन् ।
२०७४ साल मंसिर १० र २१ गते नेपालको इतिहासमै पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पनन भयो । जनताको गोप्य जनमतको नतिजा अहिले देशैभरि आउने क्रम जारी छ । मुलुककै सबैभन्दा जेठो राजनीति दल नेपाली कांग्रेसले देशैभरि खासै जनमत प्राप्त गर्न सकेन । ७० प्रतिशत जनता वामपन्थी भएको देशमा वाम गठबन्धनले अपत्यारिलो जनमत प्राप्त गरेको छ । सायद प्रदेश नम्बर दुईबाहेक बाँकी छवटै प्रदेशमा वामपन्थीहरूले बहुमत प्राप्त गरेका जस्तो बुझियो ।
२०७० सालको निर्वाचनमा नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल बनेको थियो । २०६४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ठूलो दल बनेको थियो भने २०७४ सालको निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बन्न पुगेको छ । पालो कहिले सासूको कहिले बुहारीको । लोकतन्त्रमा यसलाई सामान्य मान्नुपर्छ । जनताले दलहरूलाई ठूलो वा सानो बनाउने हुन् । यो विश्व मान्यता जनादेश पनि हो । हाम्रो मुलुकमा प्रत्येक निर्वाचनमा जनताले पालैपालो दलहरूलाई प्रथम, दोस्रो र तेस्रो बनाएका छन् । जनताले ठिकै गरेका छन् । दलहरूको कामको मूल्यांकन जनताले गरेका हुन् । यो प्रक्रिया निरन्तर चलिनै रहनेछ । कसैले पनि यसलाई अन्यथा लिनु हुँदैन ।
२०७४ मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनले नेपाली कांग्रेसलाई नराम्रो झट्का लागेको छ । आफूलाई प्रजातान्त्रिक दल भन्ने नेपाली कांग्रेस किन जनताबाट अनुमोदित भएन ? जनताले किन नेपाली कांग्रेसलाई जनमत दिएनन् ? नेपाली कांग्रेसले जनमत गुमाउनुका पछाडि के के कारणहरू छन् ? यी र यस्ता प्रश्नहरू आज समाजमा सृजना भएका छन् । खोज तथा अनुसन्धान गर्दै जाँदा निम्न आधा दर्जन कारणले नेपाली कांग्रेसले नराम्रो हार व्यहोर्नु परेको राजनीति पण्डितहरू बताउँछन् ।
१) नेकपा एमाले र माओवादी केन्द्रबीच भएको वाम एकता नै प्रमुख कारण हो । दोस्रो र तेस्रो ठूला दल जब गठबन्धन गरेर ६०/४० को अंक गणितीय हिसाबले निर्वाचनमा होमिए, नेपाली कांग्रेस स्वत कमजोरी हुन पुग्यो । लोकतान्त्रिक दरिलो गठबन्धन गर्न नेपाली कांग्रेसले मधेशवादी दलहरू र हिन्दू राजावादी दलहरूसित कोशिश गरेपनि नेपाली कांग्रेस असफल हुन पुग्यो । फलस्वरूप वामगठबन्धनको पल्ला भारी भयो । निर्वाचनमा होमिए । सीट संख्या र उम्मेदवार छनौट प्रक्रियामा सफल वाम पन्थीहरूले निर्वाचनको जनमत आफ्नो पोल्टामा पनि सहजै ठाने ।
२) महाअभियोग प्रकरण । आफैले योग्य, इमान्दार, सक्षम भनेर अख्तियार दुरूपयोग आयोगका अध्यक्ष लोकमानसिंह कार्कीलाई सिफारिस र नियुक्ति गरेको थियो । तीन वर्ष नबित्दै अयोग्य, असक्षम, बैमानी भन्दै महाअभियोगको पक्षमा देखिएकाले जनताले नेपाली कांग्रेसलाई अर्कै नजरले हेर्न थाले । नेपाली कांग्रेसको विचार सिद्धान्त र नीतिमा विश्वास गर्ने विराटनगरकी वरिष्ट अधिवक्ता सुशीला कार्कीलाई प्रधानन्यायाधीश बनाउन नेपाली कांग्रेस प्रस्ताव गरेको थियो । कार्यकाल पूरा हु्न केही महिनामात्र बाँकी छँदा नेपाली कांग्रेसका सभासदले संसदमा प्रधानन्यायाधीश कार्की विरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गराए । पछि फिर्ता पनि भयो । नाटकीय तरिकाले नेपाली कांग्रेसले सुशीला कार्कीलाई पदबाट हटाउन खोजेको थियो । तर प्रक्रिया असफल भयो । इतिहास साक्षी छ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेनापति, राष्ट्रपति र पशुपतिमा हात हालेकै कारण उनी असफल भएका थिए । ठीक त्यसैगरी नेपाली कांग्रेसले पनि लोकमानसिंह कार्की, सुशीला कार्की र प्रहरीका इमानदार अधिकृत नवराज सिलवाललाई राजनीतिकरण गरेको नेपाली जनताले मन पराएका थिएनन् । फलस्वरूप नेपाली कांग्रेसप्रति जनताले विश्वास गर्न छाडे ।
३) मन्त्रीमण्डल ६४ सदस्यसम्म पटक पटक बिस्तार गर्दा पार्टीका नेताहरूलाई काखा र पाखा, निर्वाचन आचारसहिताको ठाडो उल्लंघन लगायतका कारणले पनि नेपाली कांग्रेस जनताबीच प्रिय हुन सकेन । कानुन विपरीत काम गर्दै जाँदा नेपाली जनताले नेपाली कांग्रेसलाई नजिकबाट नजरअन्दाज गरिरहेका थिए । सबैभन्दा जेठो र प्रजातान्त्रिक दल भन्नेहरूले नै कानुनको ठाडो उल्लंघन गरेको जनताले मन पराएका थिएनन् । यसको असर निर्वाचनमार्फत नेपाली जनताले नेपाली कांग्रेसलाई पाठ सिकाएका छन् ।
४) निर्वाचनमा उम्मेदवार बन्नका लागि थुप्रै योग्य उम्मेदवार नेपाली कांग्रेसमा छन् । उम्मेदवार छनौट प्रक्रियामा कुनै मापदण्ड, आधार तयार नपारी, आफन्त, नातागोता, नजिकका नेता, धनवाद र डनवादलाई मात्र टिकट वितरण गरेकाले थुपै्र ठाउँहरूमा अन्तरघात भएको गन्ध पाइयो । फलस्वरूप निर्वाचनमा असहयोग भएकाले नेपाली कांग्रेसका चर्चित प्रथम पुस्ता तथा शीर्ष नेताहरूले हार स्वीकार गर्नु परेको अवस्था देखियो । पार्टीमा आजीवन समर्पित नेताहरूलाई पाखा लगाउने कार्य सहन नसकेर अन्तरघातको गलत बाटो लिन केही नेताहरू बाध्य भए ।
५) नेपाली कांग्रेसले आफ्ना भ्रातृ र भगिनी संघ संगठनहरू सक्रिय तरिकाले परिचालन गर्न नसक्नु । नेपाली विद्यार्थी संघ, तरूण दल , महिला संघलगायतका भ्रातृ र भगिनी संघहरूको आवधिक अधिवेशन, रिक्त स्थान तथा पदहरूमा पदपूर्ति गर्न नसक्नु लगायतका कारणहरू हुन् । लामो समयसम्म पनि भ्रातृ संघहरूको अधिवेशन गर्न नसक्नु, आफ्ना मान्छेलाई मात्र काखा लगायतका अवैज्ञानिक कारणहरू हुन् । सारमा भ्रातृ र भगिनी संघ संगठनहरू सही तरिकाले व्यवस्थापन गर्न नसक्नु ।
६) आन्तरिक कारण भनेको नेपाली कांग्रेसभित्र विकास भएको गुट उपगुट, खेमा, पक्ष लगायतका कारणहरू हुन् । देउवा, पौडेल, सिटौला, खड्का लगायतका गुट र उपगुटले गर्दा एक गुटले अर्काे गुटलाई सहज स्वीकार गर्नु नसक्नु नै नेपाली कांग्रेसको हारको जिम्मेवार हो । भ्रष्टाचारीलाई संरक्षण गर्नु । भ्रष्टाचारी जेल सजायबाट रिहा हुँदा स्वागत गर्नु नेपाली कांग्रेसको धर्म होइन । गल्ती गर्नेले सजाय पाउदछ । संरक्षण गर्नु हुँदैन । नेपाली जनताले नजिकबाट नेपाली कांग्रेसलाई निहालिरहेका थिए । त्यसैको परिणाम निर्वाचन २०७४ को हार हो जस्तो लाग्दछ ।
७) राजनीति एक प्रकारको खेल हो । कहिले हार र कहिले जीत । दुबै स्वीकार गर्न सक्नु पर्दछ । नेपाली जनताको जनादेशलाई नेपाली कांग्रेसले स्वीकार गर्न सक्नु पर्दछ । वास्तवमा नेपाली कांग्रेसले हारेको होइन । नेपाली कांग्रेसको नीति तथा सिद्धान्तको हार भएकै होइन । व्यक्तिवादी चरित्रको हार हो । नेताको हार हो । नेपाली कांग्रेसका नेताले हारे पनि अबका पाँच वर्ष नेपाली कांग्रेस र नेताहरू नेपाली जनताका घर आगनमा उपस्थित हुनु जरूरी छ । नेपाली जनताका सुख र दु:खका दिनहरूमा कांग्रेसजन जनताका घरदैलोमा उपस्थित हुनु जरूरी छ । आगामी पाँच वर्षसम्म गाउँ सहरमा रहेर जनताका समस्याहरू समाधान गर्न आतुर हुनु आवश्यक छ । निर्वाचन फेरि पनि आउँदछ । हारको पाठ सिक्दै आगामी निर्वाचनमा अत्यधिक बहुमतले जनताको मन जितेर फेरि पनि नेपाली कांग्रेस मुलु्ककै एक नम्बर दल बन्न सक्दछ । व्यक्तिवादी चरित्र त्याग गरेर सामूहिक चरित्र निर्माण गर्दै आगामी पाँच वर्षसम्म जनताका बीच रहन सक्नु पर्दछ । जनतालाई विश्वासमा लिएर जनसेवा कार्यमा लागेमा अर्काे निर्वाचनमार्फत नेपाली कांग्रेस प्रथम हुनेछ ।