किशोरी अवस्थाले करिब १०/११ वर्षदेखि १८ वर्ष सम्मका बालिकाहरूलाई बुझाउँछ । यो अवस्था अत्यन्तै संवेदनशील अवस्था हो । यसलाई परिवर्तनशील तथा संवेदनशील विकासको अवस्था पनि भनिन्छ । शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा बौद्धिक लगायतका क्षेत्रमा बालिकाहरूको तीव्र परिवर्तन हुने अवस्था पनि हो ।

किशोरी अवस्थामा शरीरको विकास, छातीको विकास, महिनाबारी सुरुसँगै वजन तथा उचाइमा वृद्धि, अनुहारमा परिवर्तन, कपाल वृद्धि लगायतका लक्षणहरू देखिन्छन् । त्यसैगरी निर्णय क्षमतामा वृद्धि, नयाँ विषय सिक्न इच्छुक, आफू तथा विश्वबारे अनेक प्रश्नहरू सोच्ने शक्तिको विकास हुनु, भावनाहरू छिटोछिटो बदलिनु, अत्यन्तै डर र खुसी जस्ता भावना वृद्धि हुनु, साथीप्रतिको आकर्षण बढ्नु र परिवारबाहिरका सम्बन्धहरू महत्वपूर्ण हुने अवस्था समेत हो ।

Advertisement

किशोरी अवस्था अत्यन्तै संवेदनशील अवस्था भएकाले थुप्रै चुनौतीहरू पनि देखिन्छन् । यो अवस्थामा गलत साथीसँग पर्न सक्ने जोखिम उत्तिकै हुन्छ । मित्रता, प्रेमभाव, विपरीत लिङ्गप्रति आकर्षण तथा सम्बन्धमा जटिलता, सरसफाइ वा महिनावारी स्वास्थ्य सम्बन्धी समस्या, गलत लाग्ने बानी, समयको गलत प्रभाव, समाजको कुप्रथाहरूको गलत धारणा, अभिभावकसँग विचार नमिल्नु लगायतका चुनौतीहरू किशोरी अवस्थामा देखिन्छन् ।

हाम्रो समाजले विशेषगरी किशोरी अवस्थामा रहेका बालिकाहरूलाई सकारात्मक सोच विचारका लागि सधैँ प्रेरणा दिनुपर्ने हुन्छ । शारीरिक व्यायाम, भोजनमा सन्तुलित आहार, प्रशस्त मात्रामा पानी पिउनुपर्ने तथा सकारात्मक सोच्ने शक्ति प्रदान गर्नु आवश्यक देखिन्छ ।

किशोरी अवस्थाका विषयवस्तुलाई मध्यनजर गर्दै आगामी मङ्सिर १४ गते आइतबार रंगेली नगरपालिकाले जनता क्याम्पसमा किशोरी मेला २०८२ आयोजना गर्दैछ ।  रङ्गेली नगरपालिका भित्रका १३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० र १२ सम्मका छात्रा विद्यार्थीहरूलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको हो ।

मेलामा विशेष गरेर महिनावारी, बालविवाह,  चेलीबेटी बेचबिखन, बालश्रमिक, कुप्रथा लगायतका विषयमा किशोरीहरूलाई विज्ञहरूले सहजीकरण गर्नेछन् । विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिरका किशोरीहरू समेत सहभागी हुने कार्यक्रममा किशोरीहरूलाई केही आवश्यक पर्ने सामग्री प्रदान गरिने छ ।

यस्तो खालको मेला ७५३ पालिकामध्ये मोरङको रङ्गेली नगरपालिकाले पहिलोपटक आयोजना गर्दैछ । नगरपालिका अन्तर्गत बालबालिका तथा महिला शाखाका कर्मचारीहरूले पालिकाभित्रका १३ वटै माध्यमिक विद्यालयमा गएर १५ सदस्यीय किशोरी समूह गठन गरिसकेका छन् ।

समूह गठन गर्ने क्रममा रङ्गेली नगरपालिकाका बालबालिका तथा महिला शाखाकी प्रमुख राधिका गौतम, मनोविमर्शकर्ता दमन्ती राजवंशी, सविता दाहाल, नगरपालिका अपाङ्गता शाखाकी सहजकर्ता सुजना पोखरेल लगायतले विद्यालयहरूमा किशोरीहरूलाई सहजीकरण गर्दै किशोरी मेलामा अनिवार्य सहभागी हुन अनुरोध गरेका छन् । किशोरी अवस्था अत्यन्तै महत्वपूर्ण तथा संवेदनशील भएकाले मेलाले किशोरीहरूको चौतर्फी विकास र सकारात्मक सोच विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!