
अहिले हामी इतिहासको जटिल मोडमा उभिएका छौँ । यो समस्याको मूल कारण दलभित्रको आन्तरिक लोकतन्त्र, सुशासन र विधिको शासनमा कमी भएर हो भन्ने कुरामा दुईमत छैन । अर्को जटिल कारणको बारेमा खासै छलफल भएजस्तो लागेन । नेपालमा रहेको निजामती सेवा र उनीहरूको काम गर्ने शैलीमा देखा पर्ने मनोविज्ञान, जसका कारण पनि राजनीतिक नेतृत्व पटक-पटक फेल खाइरहेको छ ।
निजामती सेवा र उनीहरूभित्र देखा परेको निजी मनोविज्ञानले नेपाली जनताले धेरै दुःख र कष्ट व्यहोर्नु परेको यथार्थ हो । अब यी र यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्छ । एक युवावस्थामा प्रवेश गर्दै गरेको बालक आफ्नो नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय जान्छ । उसले यति फन्को मार्नुपर्छ की, ऊ त्यहाँ आफ्नो आक्रोश व्यक्त गर्ने ठाउँ समेत पाउँदैन ।
गुनासो गर्न खोज्छ, माध्यम भेट्दैन । उचित समाधान पाउँदैन । उल्टै गाली खान्छ । अलि पछि लाइसेन्स बनाउन जान्छ । अझ बढी ठक्कर खानुपर्छ । विचौलियाबाट तुरुन्तै काम हुन्छ । भर्चुअल दुनियाँमा रमाइरहेको पुस्ता बाहिरी दुनियाँका हरेक कुरा बुझ्छ । नेपालमा पनि त्यही खोज्छ, पाउँदैन । पाउने छाँटकाँट समेत देख्दैन । उसले सिधै यसको दोष राजनीतिक संयन्त्र र नेतृत्वमा देख्छ । किनकी कुनै फोनले अर्को उस्कै उमेरको व्यक्तिको काम उतिखेरै हुन्छ ।
प्रशासनले गर्ने काम समेत राजनीतिक संयन्त्रमा पुगेर ठोकिन्छ । विद्यमान प्रशासनिक संरचनाको सुधारको उपाय नखोजी अहिलेको पुस्ताले खोजेको परिवर्तन सम्भव छैन । सिंहदरबार जल्यो । अदालत जल्यो । संसद् भवन जल्यो । हाम्रा पुरातात्विक संरचना नष्ट भए यी घर र भवनको दोष थिएन । दोष केवल त्यहाँ भित्रका व्यक्तिको आचरणमा थियो ।
विकास र परिवर्तनका लागि सिंगो पुस्ताले खोजेको रूपान्तरण यही हो ? यस विषयमा पनि बहस गरौँ ।
व्यक्ति फेर्न सकिन्थ्यो, फेरिएन । त्यहाँ कुनै न कुनै भोलि आउनैपर्छ । सिंहदरबारका ठूला भनिएका प्रशासकको हुकुमी शैली, आफूबाहेक अरुलाई मान्छे नदेख्ने प्रवृत्ति कायम रहिरहने हो भने अहिलेका पुस्ताले खोजेको परिवर्तन सम्भव छैन । विकास र परिवर्तनका लागि सिंगो पुस्ताले खोजेको रूपान्तरण यही हो ? यस विषयमा पनि बहस गरौँ । अन्यथा भोलि जेनजीले गरेको नेतृत्वका विरुद्ध पछि जेन अल्फा र जेन बिटाले यो भन्दा ठूलो आन्दोलन गर्नुपर्ने हुन्छ ।
यो जटिल परिस्थितिको जिम्मेवारी एक राजनीतिक दलको सदस्यले मेरो पनि हो । साथै म आफैँ पनि यो प्रवृत्तिको पीडित हो । युवाको साथमा छु । राजनीतिक आस्थाको आधारमा मेरो भागमा पर्ने हिस्सा कति छ म त्यो स्वीकार्न तयार छु । र सबै हुनुपर्छ । अब यस विषयमा बहस सुरु गरौं की भोलिका पुस्ताले दुःख र कष्ट ब्यहोर्नु नपसोस् ।
देशभित्रको समस्याको समाधान हामी आफैँ गरौँ । संविधानभित्रबाटै समाधान खोजौँ । राजनीतिक र प्रशासनिक दुवै संयन्त्रको रूपान्तरण गरौँ । जेनजीले खोजेको नेतृत्व हरेक दलभित्र हुनुपर्छ ।
प्यारा जेनजी भाइबहिनीहरू,
हामी इतिहासको एक जटिल मोडमा छौँ । केहीबेरमा के हुन्छ, कसैलाई पनि थाहा छैन । देशभित्रको समस्याको समाधान हामी आफैँ गरौँ । संविधानभित्रबाटै समाधान खोजौँ । राजनीतिक र प्रशासनिक दुवै संयन्त्रको रूपान्तरण गरौँ । जेनजीले खोजेको नेतृत्व हरेक दलभित्र हुनुपर्छ । २४ गते सिंहदरबार छेउछाउ शान्तिपूर्ण जुलुस छुट्टै, आगो लगाउने र तोडफोड गर्ने समूह छुट्टै, सामान चोरेर भाग्ने छुट्टै र संरचना र सामानहरू जोगाउ भन्ने छुट्टा-छुट्टै थिए । छुट्टा-छुट्टै मनस्थिति र व्यवहारका बीच हाम्रा संरचना ध्वस्त भए । सबैको एउटै स्वर ‘लोकतन्त्र-गणतन्त्र’ हाम्रो हो ।
राष्ट्रियता, सार्वभौमसत्ता कसैले खोसेर खोसिनु हुन्न । व्यवस्था बचाएर अवस्था बदल्न सकिन्छ । नयाँ पुस्ताको चाहना बुझ्न नसकेकोमा आत्मआलोचित हुनुपर्छ । जेनजीको भावना बमोजिम निष्कर्षमा पुग्नुपर्छ । तर, संविधानको मर्म अनुसार अगाडि बढ्नु नै राम्रो हुन्छ र हुनुपर्छ । यो आन्दोलनको क्रममा नाबालकले ज्यान गुमाउन पुगे । सबैमा हार्दिक श्रद्धाञ्जली, परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।
जेनजी समूहमा कुनै पार्टीका कार्यकर्ता पनि थिएन र छैनन् । समय अनुसार आफ्ना मागहरू राख्नु ठिक थियो । देशको आवश्यकता पनि थियो । हाम्रो नेतृत्वहरूले समय सापेक्ष समाजको मनोविज्ञान बुझ्न नसकेकै हो । तर, अराजक, उदण्ड, उग्रवादी र विदेशी शक्तिहरूले आन्दोलनलाई आफ्नो नियन्त्रणमा लिएपछि जेनजी पुस्ताले रोक्न सकेन । आन्दोलन अनियन्त्रित बन्न पुग्यो । राज्यका पुरातात्विक सम्पदाहरू ध्वस्त भए ।
(लेखक नेपाल नेकपा एमाले धनकुटाका सचिव हुन्)















