Avatar photoSangalo Khabar

धनकुटा, १८ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको संघारमा आईपुग्दा धनकुटामा कस्ले बाजी मार्ला भन्ने कौतुहलता उत्कर्षमा पुगेको छ । बिगतका निर्वाचनमा पार्टी–पार्टी वीच चुनावी प्रतिस्प्रधा हुँने गरेको भएपनि यो चुनावमा भने बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनवीच मुख्य प्रतिस्प्रधा छ । दुवै गठबन्धन आ–आफ्नो जित सुनिश्चित रहेको दावी गरिरहेका छन् ।

प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको धनकुटामा वाम गठबन्धनका तर्फबाट एमाले जिल्ला अध्यक्ष राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापावीच कडा टकराव हुँने मतदाताहरु बताउँछन । २०७० सालको संबिधानसभा निर्वाचनमा पनि मुख्य प्रतिस्प्रधी रहेका राई र थापावीच यो दोस्रो चुनावी भेट हो ।

Advertisement

त्यस बेला थापाले ४ सय ५६ मतान्तरले राईलाई पराजित गरेका थिए । तर, यस पटकको निर्वाचनमा त्यसको गतिलो जवाफ दिने भन्दै राई चुनावी अभियानमा होमिएका छन । यता बाबु पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको साख जोगाउन पनि आफ्नो जित सुनिश्चित गर्नुपर्ने भन्दै थापा चुनावी अभियानमा छन । एमालेका जिल्ला अध्यक्षसमेत रहेका राईलाई माओवादी केन्द्र र राप्रपाको पनि साथ छ । उद्योग मन्त्रीसमेत रहेका थापा कांग्रेस र संघीय समाजवादी फोरमको साथमा चुनावी प्रतिस्प्रधामा छन ।

प्रतिनिधि सभाका मुख्य प्रतिस्प्रधी राजेन्द्र राई र सुनिलबहादुर थापा । तस्वीर: रबिन कटेल/संगालोखबर

गत स्थानीय तह निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तहमा प्राप्त गरेको बिजयले पनि एमालेलाई दरिलो सावित गरिदिएको छ । एमालेलाई अर्को ठुलो दल माओवादी केन्द्र र राप्रपाको साथका कारण लोकतान्त्रिक गठबन्धनले बिजय प्राप्त गर्न फलामको च्युरा चपाउँनु सरह हुने धेरैको अनुमान छ । तर, कांग्रेस र संघीय समाजवादी फोरमसँगको सहकार्यबाट बनेको लोकतान्त्रिक गठबन्धन पनि बाम उम्मेदवारका लागि कम चुनौतिपूर्ण भने छैन ।

यस्तो अवस्थामा बाम उम्मेदवार राई र लोकतान्त्रिक उम्मेदवार थापा आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै आएका छन । ‘अघिल्लो निर्वाचनमा थापालाई जिताएर जनताले केही पाएनन् ।’ राई भन्छन ‘अव जिल्लाको समग्र विकासका लागि जनताले मलाई जिताउँदै छन ।’ यता थापा पनि आफ्नो पक्षमा जनमत रहेको दावी गर्छन । ‘समृद्ध नेपालको लागि लोकतान्त्रिक गठबन्धन हो ।’ उनले भने, ‘धनकुटालाई पनि समृद्ध बनाउन हामी लागिपरेकाले जनमत पाउनेमा ढुक्क छु ।’

राई र थापाले अधिकांस चुनावी सभामा एक–अर्कालाई आरोप–प्रत्यारोपमै समय खर्चिने गरेका छन । शनिवार पाख्रीबासमा भएको चुनावी सभामा राईले थापालाई हावादारी आश्वासन बाड्ने, दोहोरो नागरिकता भएको लगायतका आरोप लगाए । यता आईतबार सदरमुकाममा भएको सभामा थापाले एमालेलाई बिकास बिरोधी भएको आरोप लगाउँनमै अधिकांस समय खर्चिए । उनीहरुवीचको यस्तो आरोप–प्रत्यारोपले पनि एक–अर्कालाई कडा प्रतिस्प्रधी ठानेको सहजै अनुमान लगाउँन सकिने मतदाताको भनाई छ ।

यता प्रतिनिधिसभाको रोचक प्रतिस्प्रधाले धनकुटामा प्रदेशसभा निर्वाचनलाई भने केही ओझेल पारेको देखिन्छ । प्रदेशसभा निर्वाचनका लागि १ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट एमाले धनकुटाका उप–सचिव निरन राई र लोकतान्त्रिक गठबन्धनबाट काग्रेसका पूर्व जिल्ला सभापति मनोहर नारायण श्रेष्ठ मुख्य प्रतिस्प्रधी छन ।

यता २ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट एमाले नेता ईन्द्रमणी पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका नेता अर्जुन थापा प्रतिस्प्रधामा छन् । उनीहरु पनि आ–आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै चुनावी अभियानमा छन ।

को हुन् राजेन्द्र राई ?

२०२२ भदौ २९ गते धनकुटाको मुगामा जन्मिएका राजेन्द्र राई १४ वर्षको कलिलै उमेरमा विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका हुन । मुगाको सरस्वती प्राथमिक विद्यालयमा अध्ययनसंगै वामपन्थी भूमिगत राजनीतिमा उनको संलग्नता रह्यो । राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका सूर्यबहादुर थापाकै गाउ‘ले राई पञ्चायती शासनको विपक्षमा उभिए । कयौं युवा जमात ‘मुगाली थापा’ को रुपमा परिचित सूर्यबहादुरको प्रभाव तथा दबाबमा परिसकेका थिए । तर, राई त्यसको विपक्षमा अडिग रहे ।

माध्यमिक तहको पढाइका क्रममा धनकुटा सदरमुकामको माथिल्लो गोकुडेश्वर माविमा भर्ना भए । विद्यालयमा भूमिगत मालेको विद्यार्थी संगठन अनेरास्ववियुको प्रभाव थियो । २०३६ सालमा काठमाडौंको चावहिलमा अनेरास्ववियुको एकताको पाचौ राष्ट्रिय सम्मेलनमा सबै भन्दा कान्छा अर्थात १४ वर्षका उनी प्रतिनिधि बनेका थिए ।

उनले २०४२ सालमा एसएससी दिएपछि भने उनी पार्टीका पूर्णकालीन कार्यकर्ता नै बने । तत्कालिन शिक्षकको आन्दोलनमा विद्यार्थी नेताको हैसियतले सक्रिय भएका बेला धनकुटा बन्दका क्रममा उनी गिरफ्तार भई ४१ दिनसम्म हिरासतमा बसेका थिए । उनलाई राजकाज मुद्दा लगाइयो । आन्दोलनमा कुशल तरिकाले जनपरिचालन गर्नसक्ने भएकाले उनलाई पञ्चायती शासकले निशाना बनाइरहेको हुन्थ्यो । राईलाई राजकाज मुद्दामा विराटनगर कारागार सरुवा गरी २४ महिना थुनामा राखिएको थियो ।

बाम गठबन्धनका उम्मेदवार राजेन्द्र राई ।

२४ महिना लामो र कष्टकर जेलपछि मुक्त भएर राई जिल्ला फर्किए । उनी अनेरास्वावियुको जिल्ला उपाध्यक्ष भए । २०४६ सालको जनआन्दोलनको तयारीमा विद्यार्थी मोर्चाबाट उनी सक्रिय रहे । जनआन्दोलनको पूर्वसन्ध्यामा खर्च लिन घर मुगातर्फ जानेक्रममा उनलाई पाख्रिबासबाट २०४६ माघ १६ गते प्रहरीले पक्राउ गर्यो । प्रजातन्त्र पुनःस्थापना भएको भोलिपल्ट चैत २७ मा उनी रिहा भए । जनआन्दोलनको सफलता लगत्तै अनेरास्ववियुको जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य बने । अखिलको अध्यक्षपछि उनी तत्कालीन प्ररायु संघको अध्यक्ष भए ।

उनी ०४९ मा जिविसको निर्वाचित सदस्य र ०५१ मा जिविस उपसभापति भए । त्यसपछि पार्टीको सचिवालय सदस्य हुदै किसान महासंघको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्षको जिम्मेवारी सम्हाल्ले । ०६२÷६३ को जनआन्दोलनमा जनपरिचालन गर्न पनि उनको सक्रिय सहभागिता रह्यो । आन्दोलनमा पार्टीको तर्फबाट कमाण्डर थिए । ०६६ असारमा भएको जिल्ला अधिवेशनबाट उनी धनकुटाको निर्वाचित जिल्ला अध्यक्ष भए ।

उनी हाल दोस्रो कार्यकालको रुपमा अध्यक्षको जिम्मेवारीमा छन् । स्थानीय तहको निर्वाचनमा ७ वटै तह जिताएर धनकुटालाई एमालेको ‘लालकिल्ला’ बनाएपछि पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले धनकुटै आएर उनलाई ‘म्यान अफदी म्याच’ को उपाधी दिए । माओवादी केन्द्र, एमाले र राप्रपा सम्मिलित बाम गठबन्धनको तर्फबाट अहिले उनी प्रतिनिधि सभाको उम्मेदवार बनेका छन ।

को हुन् सुनिलबहादुर थापा ?

बि.स. २०१६ बैशाख १ गते धनकुटाको साविकको मुगा–४ (हालको पाख्रिबास नगरपालिका) मा जन्मिएका सुनिलबहादुर थापा पुर्व प्रधानमन्त्री स्व.सुर्यबहादुर थापाका एक मात्र पुत्र हुन् । राजधानीको पद्मोदय माध्यमिक विद्यालयबाट सन् १९६५ मा प्रवेशिका परीक्षा उत्तिर्णपछि सरस्वती बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह सके । यसपछि उनी उच्च शिक्षाका लागि भारत र अमेरीका पुगेका थिए । भारतको अहम्दावादस्थित एच एल कलेज अफ कमर्सबाट स्नातक र अमेरीकाको क्लारिमोन्ट ग्राजुयट स्कुलबाट स्नातकोत्तर उत्तिर्ण गरेका थिए ।

अध्ययन पुरा गरेपछि उनी स्वदेशमा केहि वर्ष मात्र सामाजिक संस्था तथा अनुसन्धानमूलक कार्यमा सम्लग्न भए । त्यसपछि सन् १९८८ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत मानवअधिकारका क्षेत्रमा विभिन्न मुलुकमा जागिरे जीवन व्यथित गरे । त्यसक्रममा डेढ दशकको अवधिमा उनले सुडान, श्रीलंका, तान्जानिया, पाकिस्तान, कोसोभो, टिमोर, अमेरीका लगायतका देशमा यूएन अन्तर्गतका जिम्मेवार पदमा रहेर काम गरे ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सुनिलबहादुर थापा ।

प्रत्यक्ष राजनीतिक जीवन सुरुवात गरेको करिब पॉच वर्षको अवधिमा नै उनले लाभको पद सम्हाल्दै आएका छन । वि.सं.२०६९ सालमा तत्कालिन जनशक्ति पार्टीको केन्द्रीय सदस्य भएसंगै प्रत्यक्ष राजनीतिमा भित्रिएका थापा त्यसपछि राजनीतिक वृत्तमा स्थापित बन्दै गएका छन् । युएनको जागिरे जीवनपछि लगत्तै राजनीतिमा होमिएका उनी बाबु सूर्यबहादुरले नेतृत्व गरेको जनशक्ति पार्टीमा केन्द्रीय सदस्य भएपछि सक्रिय राजनीतिमा जुट्दै आएका छन् ।

वि.सं.२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनले जित हात पारे । लगत्तै बनेको सरकारमा उनी वाणिज्य तथा आपुर्ति मन्त्रीसमेत भए । उनी केन्द्रीय सदस्य रहेको जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण भएसंगै २०७० सालमा पुनः राप्रपाको केन्द्रीय सदस्य निर्वाचित भए ।

पछिल्लो समय राप्रपाबाट विभाजित भइ बनेको राप्रपा (प्रजातान्त्रिक) मा महामन्त्रीको जिम्मेवारी पाएका उनी कांग्रेसले नेतृत्व गरेको सरकारको उद्योग मन्त्री छन् । राप्रपा, काग्रेश र संघीय समाजवादी फोरम सम्मिलित लोकतान्त्रिक गठबन्धनबाट उनी प्रतिनिधि सभाको उमेदवार छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement