संगालोखबर


विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश विराटनगरले इलामको माईजोगमाई गाउँपालिकामा बीमाको महत्व, पहुँच तथा प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बीमाको महत्व, आवश्यकता, कृषि तथा पशुपन्छी बीमा, बीमा दाबी प्रक्रिया, बिमितको अधिकार तथा बीमा सेवाको प्रभावकारी कार्यान्वयनका विषयमा जानकारी गराइएको हो ।

Advertisement

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले बीमालाई स्थानीय नागरिकको आर्थिक सुरक्षा र जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

गाउँपालिकाका भवन, सवारी-साधन तथा अन्य सम्पत्तिको बीमा गर्नुका साथै स्थानीय नागरिक, कृषक तथा पशुपालकलाई बीमाको दायरामा ल्याउन गाउँपालिकाले आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यले बीमाको आवश्यकता र स्थानीय तहबाट बीमा कार्यक्रमको प्रवर्द्धन तथा कार्यान्वयनमा गर्न सकिने सहयोगका विषयमा आफ्नो धारणा राखेका थिए । गाउँपालिकाका उपाध्यक्ष प्रवीना राईले बीमालाई नागरिकको आर्थिक सुरक्षासँग जोड्दै कृषि तथा पशुपन्छी बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

नेपाल बीमा प्राधिकरण कोशीका प्रमुख राजेन्द्र महर्जनले कार्यक्रममा सहभागीहरूबाट उठेका जिज्ञासा तथा प्रश्नहरूको हल गरेका थिए । उनले आगामी दिनमा माईजोगमाई गाउँपालिकासँग समन्वय गरेर बीमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताए ।

उनले स्थानीय तहलाई क्रमशः बीमामय बनाउँदै बीमाको पहुँच विस्तार गर्न नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालयले स्थानीयस्तरमा सचेतना कार्यक्रम गरिरहेको उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!