
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवामा स्थापना भएको निगाले सिमेन्ट उद्योग चरम आर्थिक संकटमा परेको छ ।
आर्थिक संकट र कच्चा पदार्थको अभावमा थलिएको सिमेन्ट उद्योग तीन वर्षदेखि ठप्प भएको हो । धनकुटाकै ठूलो उद्योगकारूपमा स्थापित निगाले सिमेन्ट आर्थिक संकटका कारण आवश्यक कच्चा पदार्थ उपलब्ध नहुँदा बन्द छ ।
दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगमा आर्थिक संकट आएसँगै ३ हजार बोरा सिमेन्ट उत्पादन हुन थालेको थियो । कच्चा पदार्थ अभावमा सिमेन्ट उत्पादन घट्दै गएपछि बन्द भएको उद्योगका उपकरणहरू अहिले खिया लागेर जीर्ण बन्दै गएका छन् ।
उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कोइला, बक्साइट, लेटराइट, जिप्समलगायतका कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने भएपनि आर्थिक संकटका कारण उद्योग सञ्चालन गर्न नसकिएको सञ्चालक दिनेश पौडेलले बताए ।

उद्योग सञ्चालन हुँदा उद्योगबाट उत्पादित सिमेन्टले धनकुटासहित कोशी प्रदेशका तेह्रथुम, संखुवासभा, भोजपुरलागयतका जिल्लामा करिब ८० प्रतिशत माग धान्दै आएको थियो । बन्द उद्योगले दैनिक लाखौं घाटा बेहोर्दै आएको छ ।
आर्थिक संकटका कारण लामो समयदेखि बन्द भएको उद्योग पुनः सञ्चालनको तयारीका विषयमा केही कुरा नभएको छथर जोरपाटी गाउँपालिकाले जनाएको छ । आर्थिक संकटका कारण धनकुटामा सञ्चालित साना र मझौला उद्योग पछिल्लो समय धमाधम बन्द हुन थालेका छन् ।
विद्युत प्राधिकरण धनकुटाका अनुसार निगाले सिमेन्ट उद्योगले लामो समयदेखि विद्युतको बक्यौता रकम समेत तिरेको छैन । विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख विजली प्रसाद यादवका अनुसार उद्योगले जरिवानासहित १५ करोड ८३ लाख ८ हजार ६२० रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ ।

सन्तोष सुवेदी/संगालोखबर 



















