संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी र कुटपिट गरेको आरोपमा बाबु-छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालिकाका ५५ वर्षीय ससुरा र २३ वर्षीया श्रीमान छन् ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कानेपोखरी गाउँपालिका-६ मा बालिकालाई ५५ वर्षीय ससुराले कात्तिक २९ गते राति जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो ।

Advertisement

त्यसपछि उनलाई तत्काल पक्राउ गरेर अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।

सोही विषयलाई लिएर प्रतिवादीका छोरा (बालिकाका श्रीमान) ले आफ्नै आमालाई छेउमा राखेर पीडित बालिकालाई करणी गरेको विषयमा सोधपुछ गर्दै कुटपिट गरेको भिडियो आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

बालिकालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेपछि उनलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीमाथि विद्युतीय अपराध र बालविवाहसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।

बालिकामाथि भएको करणी र श्रीमतीमाथि भएको कुटपिटको भिडियो विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण भएको विषयमा मोरङ प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मोरङ प्रहरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्धका अपराधमा शून्य सहनशीलताको नीतिलाई गम्भीरताका साथ अवलम्बन गर्दै आएको स्पष्ट पारेको छ ।

यो घटनाप्रति गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘मोरङको कानेपोखरीमा घटेको अमानवीय घटनाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, र महिला तथा बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा र दुर्व्यवहार हाम्रो समाज र सरकारलाई किमार्थ स्वीकार्य छैन’, उनले लेखेका छन् ।

कानुन हातमा लिने र जघन्य अपराध गर्ने जोकोहीलाई पनि राज्यले कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने उनले उल्लेख गरेका छन् । ‘त्यसैले यस्ता आपराधिक गतिविधि गर्नुअघि प्रत्येक व्यक्तिले हजार पटक सोच्न जरुरी छ’, उनले लेखेका छन्, ‘पीडितलाई न्याय दिलाउन र समाजमा शान्तिसुरक्षा कायम राख्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!