
विराटनगर । उच्च अदालत विराटनगरले सरकारी कार्यक्रममा प्लास्टिकजन्य सामग्री निषेध गर्न कोशी प्रदेश सरकारलाई आदेश दिएको छ । अधिवक्ता प्रमिल अधिकारीले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले सो आदेश जारी गरेको हो ।
प्रदेश सरकारका सरकारी कार्यक्रम तथा सभा-गोष्ठीमा प्लास्टिकजन्य सामग्री र फ्लेक्स ब्यानरको प्रयोग नगर्न माग गर्दै अधिकारीले रिट दायर गरेका थिए ।
नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणको हक र धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले सरकारी निकायबाटै वातावरण प्रदूषण बढाउने सामग्रीको प्रयोग भइरहेको उल्लेख गरेका थिए ।
फ्लेक्स ब्यानर लामो समयसम्म नष्ट नहुने र यसले माटो, पानी तथा वातावरणमा नकारात्मक असर पार्ने भएकाले यसको प्रयोग नियन्त्रण आवश्यक रहेको रिटमा उल्लेख छ । प्लास्टिकजन्य सामग्रीको प्रयोगले मानव स्वास्थ्य र भावी पुस्ताको वातावरणीय अधिकारमा समेत असर पार्ने विषयलाई उनले रिटको आधार बनाएका थिए ।
आदेशसँगै सरकारी कार्यक्रमहरूमा प्लास्टिकजन्य सामग्री र फ्लेक्स ब्यानरको प्रयोग नियन्त्रणसम्बन्धी विषयले कानुनी रूपमा थप महत्व पाएको छ ।

संगालोखबर 



















