संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गरेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँगको समन्वय र सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत प्रतियोगिता आयोजना गरेको हो ।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित यस वर्षको कार्यक्रम सुरु भइसकेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन हुनेगरेको छ ।

Advertisement

प्रतियोगितामा सहभागी हुन लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पुग्ने गरी ६० सेकेन्डसम्मको जनचेतनामूलक वा सन्देशमूलक टिकटक भिडियो निर्माण गर्नुपर्ने महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

भिडियोमा शारीरिक, मानसिक, भावनात्मक तथा यौनजन्य हिंसाविरुद्धको सन्देश समेट्न सकिने महानगरले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले तयार पारेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरी त्यसको लिङ्क मंसिर १७ गतेभित्र महानगरपालिकामा उपलब्ध गराउनुपर्ने छ ।

महानगरका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

लैङ्गिक हिंसा अन्त्यका लागि महानगरपालिकाले सञ्चालन गरेको साझा अभियानलाई प्रवर्द्धन गर्न भिडियो अपलोड गर्दा तोकिएका ह्यासट्याग अनिवार्य प्रयोग गर्नुपर्ने महानगरले उल्लेख गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!