सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । दशैँमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएर एकपटक धर्ती छाड्नैपर्छ भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता छ । सोही मान्यताका कारण केही वर्ष अघिसम्म धेरैतिर पिङ लगाउने गरिन्थ्यो । तर पछिल्लो समय कमै मात्रमा पिङ देख्न पाइन्छ ।

धनकुटाका गाउँघरदेखि सहरबजारसम्म केटाकेटीदेखि युवायुवतीसम्म रमाइलो गर्ने उद्देश्यले लिङ्गे पिङ लगाउन सुरु गरिएको छ । दशैँ र तिहारलाई लक्षित गरी लगाइने पिङ एक दशक अघिसम्म धनकुटामा जताजतै देख्न पाइन्थ्यो ।

पछिल्लो केही वर्षयता हराउँदै गएका यस्ता लिङ्गे पिङहरू अहिले भने गाउँघर तथा बजारमा पुनः लगाउन थालिएको छ । दशैँ सुरु भएलगत्तै गाउँगाउँमा लिङ्गे र रोटे पिङ लगाउने प्रचलन रहेको थियो ।

गाउँभरिका मानिसहरू भेला भएर बाबियो र बाँसबाट लिङ्गे पिङ तयार पार्ने गर्थे भने खयर, सल्लो लगायतको काठबाट रोटेपिङ बनाउने गरिन्थ्यो । दशैँ-तिहारको मुख्य मनोरञ्जनको साधनको रूपमा पिङलाई लिने गरिन्छ ।

अहिले युवा पुस्तामा अन्य मनोरञ्जनका साधनहरूप्रतिको मोह बढेका कारण पिङ लोप हुँदै गएको धनकुटाका स्थानीय खेम घिमिरेले बताए । दशैँ आएसँगै घरमा रङरोगन गर्ने तथा पिङ हाल्ने प्रचलन भए पनि पहिलेजस्तो चहलपहल नभएका कारण अहिले केही मात्रामा मात्र पिङहरू देख्न पाइने उनको भनाइ छ ।

लिङ्गे पिङ बाँस, बाबियो, जुट लगायतबाट निर्माण गर्ने गरिन्छ । अझ पहाडी क्षेत्रमा गाउँका सबैजना भेला भएर दशैँ आउनुअगावै बाबियो काट्न जाने प्रचलन छ । दशैँमा नौरथा लागेसँगै गाउँघरमा सबै जम्मा भएर पिङ लगाउने र तिहारसम्म खेल्ने गरिन्थ्यो ।

तर, अहिले एउटा पिङ भेट्नका लागि धेरै गाउँ चाहर्दा मात्र बल्लबल्ल देख्न पाइने अवस्था छ । पिङ दशैँको संस्कृति र मौलिकतासँग जोडिएको छ । अझ पुरानो पुस्तालाई त अहिले पनि पिङ नदेखेसम्म दशैँ आएको महसुस नै हुँदैन । आधुनिकताले ढपक्कै ढाक्न थालेको यस समयमा दशैँको यस्ता संस्कृति र मौलिकतालाई जगेर्ना गर्न आवश्यक छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!