
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रमिला कार्की उत्कृष्ट महिला प्रहरी पुरस्कारबाट पुरस्कृत भएकी छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ७१ औं प्रहरी दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा कार्कीलाई पुरस्कार प्रदान गरिएको हो ।
कार्कीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदायमैत्री प्रहरी सेवामार्फत महिला प्रहरीको भूमिकालाई थप सशक्त बनाई आम नागरिकप्रति प्रहरीको छवि उच्च बनाउने कार्यमा प्रशंसनीय भूमिका खेलेको उल्लेख छ ।
उनले सम्पादन गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्कीलाई पुरस्कार कोषका संस्थापक शिला श्रेष्ठ बज्राचार्यले २५ हजारको चेक तथा प्रशंसापत्र प्रदान गरिन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरीहरू मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जनालाई नगद पुरस्कार प्रदान गर्ने उद्देश्यले धरान-८ की बज्राचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला बीच २०८१ सालमा सम्झौता भएको थियो ।
कार्यक्रममा उत्कृष्ट महिला प्रहरी पुरस्कार कोषका संस्थापक बज्राचार्यलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

संगालोखबर 




















