
विराटनगर । मोरङ उद्योग व्यापार संघले बडादशैँ, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा बिहीबार शुभकामना आदान-प्रदान कार्यक्रम भएको हो ।
संघका अध्यक्ष अनिलकुमार साहले हरेक वर्षजस्तै यो वर्ष पनि शुभकामना आदान-प्रदा नगरिएको बताए । स्वागत मन्तव्यमार्फत उनले चाडपर्वको शुभकामनामार्फत सुख तथा समृद्धिको कामना गरिएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले चाडपर्वले सामाजिक एकता कायम गर्दै सुख समृद्धिको बाटोमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गर्ने बताए । उनले नेपालीहरूको महान पर्वको अवसरमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेप, उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहता, स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली र सामाजिक विकासमन्त्री गीता तिम्सिना सहभागि थिए ।

यस्तै नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला, अमृत अर्याल, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत तथा नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाको सहभागिता रहेको थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, विराट व्यापार संघ विराटनगरका अध्यक्ष प्रमोद जिन्दल, मोरङ चेम्बर अफ कर्मशका अध्यक्ष शिव रिजाल तथा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरू सहभागि थिए ।

संगालोखबर 




















