महात्मा गान्धी एक भारतिय राजनीतिक चिन्तक हुन । उनले बिट्रिसको साम्रज्य शासनबाट भारतलाई मुक्त गराउन प्रमुख भूमिका निर्वाह गरे । उनको जीवनकालमा प्रथम विश्व युद्ध तथा द्धितिय विश्व युद्ध जस्ता भीमकाय, नरसंहारपूर्ण लडाई भए । तर गान्धी अहिंसात्मक राजनीतिबाट कहिल्यै विचलित भएनन् । सत्य एवं अहिंसा गान्धी विचारको सार हो । उनी आदर्शवादी, अराजकतावादी, मानवतावादी, अध्यात्मवादी तथा कर्मयोगीको रुपमा विश्व समुदायमा परिचित छन् ।
लण्डनबाट वकिल भएर सन १८९१ मा गान्धी हिन्दुस्तान फर्किए । वकालती कामकै शिलशिलामा उनी सन १८९३ मा दक्षिण अफ्रिका गए । त्यहाँ उनले हिन्दुस्तानी नागरिकहरुको दयनीय अवस्था देखे । उनले अंग्रेजले हिन्दुस्तानी माथि गरेको रंगभेद, जातिभेद तथा शोषणको विरुद्ध संघर्ष गर्ने निधो गरे । एक वर्षको सम्झौतामा गान्धी दक्षिण अफ्रिका गएका भए पनि उनले त्यहा दुई दशक बिताए ।
सत्याग्रहको जन्म दक्षिण अफ्रिकामै भयो । त्यहि सत्याग्रहको सफल प्रयोगबाट दक्षिण अफ्रिकामा बसोबास गर्दै आएका भारतीयहरुलाई न्याय दिलाएर सन् १९१५ मा उनी स्वदेश फिर्ता भए । यसरी गान्धीको राजनीतिक जीवन दक्षिण अफ्रिकाबाट शुरु भएको थियो ।सत्यको बाटोमा अहिंसक पाइला चाल्दै गान्धीले भारतीय स्वतन्त्रता संग्राम अघि बढाए । अन्तत्वगोत्वा सत्याग्रह आन्दोलनले बिट्रिस शासनलाई सन १९४७ मा भारतबाट बहिर्गमन गरायो । भारतले स्वतन्त्रता प्राप्त गर्यो ।
सत्यग्रह आध्यात्मिक तथा नैतिक बलको आधारमा गरिने संघर्षको नाम हो । गान्धीजी अत्याधिक आध्यात्मिक चरित्रका थिए, तथापि राजनीतिक दर्शन र संघर्षको क्षेत्रमा पनि उनको अद्धितिय स्थान छ । गान्धीजी राजनीतिलाई नैतिक बनाउन चाहन्थे । त्यसैकारणले उनले राजनीति र धर्मलाई जोड्ने प्रयास गरे । राजनीतिलाई आध्यात्मिकता प्रदान गरे । धर्म र राजनीतिको धारणलाई व्यापक बनाए । उनी एक महान राजनीतिक हस्ती भएर पनि उनको जीवन सन्तको रुपमा स्थापित थियो । आजको चर्चा राजनीतिको आध्यात्मिकिकरण प्रति महात्मा गान्धीको धारणामा केन्द्रीत छ ।
सबैभन्दा पहिले धर्म र राजनीति लाई अलग अलग गरेर बुझौ । धर्म मान्नुका मूलत दुई उद्देश्य हुन्छन् । पहिलो उद्देश्य समाजमा नैतिक व्यवस्था स्थापना गर्नु, समाजबाट अपराध हटाउनु हो । धर्म मान्नुको दोस्रो उद्देश्य ईश्वरको कल्पना गरेर पूजा आराधना गर्नु तथा पापको डरले र पुण्य कमाउने लोभले मानवले धर्म धारण गर्ने गर्छन । धर्मले परमशक्तिसँग जोड्ने काम गर्छ । यसैगरी राजनीति गर्नुका पनि मूलत दुई उद्देश्य हुन्छन् । राजनीति गर्नुको पहिलो उद्देश्य सत्ता हातमा लिनु तथा शक्तिको खेल खेल्नु हो भने दोस्रो उद्देश्य जनताको सेवा गर्नु हो । गान्धीका राजनीतिक विचारधाराका मूलाधार राजनीति प्रति उनका आध्यात्मिक दृष्टीकोण नै हो ।
गान्धीको चाहना राजनीतिमा नैतिक मूल्य प्रदान गर्नु थियो । उनले राजनीतिलाई आध्यात्मिकरण गर्ने प्रयास गरे । त्यसैले एक संत गान्धी र राजनीतिक गान्धीमा कुनै फरक थिएन । उनले कहिल्यै धर्म र राजनीतिलाई पृथक रुपमा देखेनन् । गान्धी ईशोपनिषद्को एक श्लोकबाट प्रभावित थिए । जसलाई उनि प्रभातिय तथा संध्याकालिन प्रार्थनामा पनि समावेस गर्ने गर्थे । “ईशावास्यम् इदम् सर्वम्, यत् किं च जगत्यां जगत्” अर्थात यस जगतमा जति पनि प्राणी छन् ति सबैमा ईश्वरको बास हुन्छ । गान्धी सबै मनुष्यमा भगवान देख्थे । उनि जनताको सेवालाई भगवानको सेवा मान्थे । गान्धीजी धर्म र राजनीतिलाई एकै सिक्काका दुई पाटोका रुपमा लिने गर्थे ।
सत्यको खोज गर्दै जाँदा गान्धीलाई अहिंसाको ज्ञान भयो । उनि एक कर्मयोगी थिए । त्यसैले उनले कुरा मात्र गरेनन् । आफूले बुझेको कुरालाई व्यवहारमा प्रयोग गरेर देखाए । गान्धीले प्रेम, सत्य र अहिंसा यी तीन तत्वको माध्यमबाट राजनीतिमा परिवर्तन ल्याउने प्रयत्न गरे । गान्धीको विचारमा राजनीति कुनै व्यक्तिद्धारा सामाजिक व्यवहार मा न्याय स्थापित गर्ने नैतिक प्रयास हो, यो सत्ता प्राप्त गर्ने खेल मात्र होइन । उनको अग्रह थियो राजनीतिक कार्य सामाजिक र नैतिक रुपमा हुनुपर्छ ।
यदि राजनीतिमा नैतिकता अनुपस्थित भएमा भ्रष्टचारको उत्पति हुन्छ । यसैगरी गान्धीको भनाईमा सहि धर्म र सही राजनीति मुलत मानव जीवन र कार्यसँग संलग्न हुनपर्छ । उनका अनुसार एक सच्चा राजनीति व्यक्ति धार्मिक हुन जरुरी छ यस्तै एक सच्चा धार्मिक व्यक्ति राजनीतिज्ञ बन्न पनि उत्तिकै जरुरी हुन्छ । त्यसैले गान्धी स्पष्ट रुपमा भन्ने गर्थे जुन व्यक्तिले राजनीति र धर्मलाई अलग गर्न खोज्छ अर्थात राजनीति र धर्मलाई पृथक रुपमा व्यख्या गर्छ उसलाई सही रुपमा धर्मको अर्थ थाहा छैन ।
महात्मा गान्धी भन्दा लगभग चार सय वर्ष पूर्वका इटालियन राजनीतिक विचारक मेकियावेलीले राजनीति र धर्म ( नैतिकता) लाई पृथक तरिकाले व्याख्या गरेका छन् । उनले मानिसलाई एक स्वार्थी प्राणीको रुपमा परिभाषित गर्दै आफ्नो स्वार्थ पुरा गर्न मानिसले जस्तोसुकै कर्म गर्न पाउने धारणा व्यक्त गरेका छन । यहासम्म की मानिसको हत्या गर्नु कानुन, नैतिक र धर्मको दृष्टिले अपराध हो । यदि यस कार्यले शासनको उद्देश्य पूर्ति हुन्छ भने शासनकला दृष्टिले उचित हो । राज्यको अस्तित्व जोखिममा परेको अवस्थामा मेकियावेलीको धारणा अनुसार जुनसुकै कार्य गरे पनि क्षमा हुन्छ ।
यसरी मेकियावेलीले राजनीतिबाट धर्म र नैतिकतालाई अलग गरेका थिए । यता गान्धीले आफ्नो राजनीतिक जीवनमा राजनीति र धर्मको भेदलाई मेटाउने प्रयत्न गरे । उनि धर्मलाई राजनीतिबाट अलग गर्न सक्दैन थिए । उनको लागी राजनीतिक जीवनमा धर्म अक्सिजन समान थियो । गान्धीको धारणा थियो मानविय कार्यको सबै क्षेत्रमा एकै नैतिक–संहिता लागू हुनुपर्छ । राजनीतिमा शुद्ध धार्मिक तथा आध्यात्मिक मूल्य स्थापना गर्न गान्धीले आफ्नो प्रयास जारी राखे । उनको स्पष्ट घोषणा थियो धर्मविहिन राजनीति पाप हो ।
यसैगरी उनले राजनीतिलाई धर्म–नीतिको शाखाको रुपमा लिने गर्थे । यही मान्यता अनुुसार गान्धीले राजनीतिलाई ईश्वर सेवाको एक मार्गको रुपमा स्विकार गरे । राजनीति मानव जीवनको अनिवार्य तत्व हो यसलाई नैतिक बनाउनु आश्वयक छ जसको लागी धर्म र राजनीति सदा अन्तर सम्बन्धित हुनुपर्छ । गान्धी धर्म रहित राज्यसत्तालाई राक्षसीको संज्ञा दिन्थे ।
गान्धीको विश्वास थियो की एक स्वच्छ एवं आदर्श समाजको प्रत्येक कार्यको पछाडि नैतिक र आध्यात्मिक शक्ति हुनु अत्यान्त आवश्यक छ । गान्धीले प्राचिन चिन्तनहरुलाई सत्यका आधारमा नयाँ ढंगले समाजमा प्रस्तुत गरे । उनको विचारमा परमात्मा नै सृष्टीका आधार र निर्माता हुन ।
उनलाई पाउनु नै जीवनको मूल लक्ष्य हो । भगवान प्राप्तीका मुख्य शाधनहरु सत्य र अहिंसा हुन । सबै मानिस र प्राणीहरु ईश्वरका सन्तान हुन । सबैमा इश्वरको बास हुन्छ । सबै प्राणीहरुको सेवा गुर्न नै परमात्मासम्म पुग्ने सही बाटो हो । त्यसैले गान्धी राजनीति पनि सेवाका लागी गरिनुपर्ने र त्यसमा नैतिक जरुरी पर्ने कुरामा जोड दिन्थे ।
आज राजनीतिक क्षेत्रमा नैतिकताको खडेरी लागेको छ । छेपारोले रंग फेरेझै बोली र व्यवहार फेर्ने नेताका चरित्रबाट नेपाली जनता दिक्क भएका छन । नेताका कुरा पत्याउन पनि मुस्किल पर्न थालेको छ । केहि राजनीतिक दलका नेताहरुले आफैले गरेको सहमति सम्झौता लत्याएर राजनीतिक अस्थिरता बढाउने तथा जनतालाई सास्ती दिने जस्ता कार्य पनि गर्ने गरेको पाइन्छ ।
देशमा भ्रष्टचार बढ्दो छ । राजनीतिक दल र नेताकै आडमा भ्रष्टचारको सञ्जाल फैलाइरहेको छ । जनताको दैनिकी कष्टकर बन्दै गएको छ । राजनीतिले जुन रुपमा जनताको सेवा गर्नु पर्ने थियो त्यो गर्न नसकेर राजनीति सत्ताको फोहोरी खेलको रुपमा स्थापित भइरहेको छ ।
नयाँ सरकार गठन भएको महिना दिन बित्न नपाउदै सरकार गिराउने प्रपन्च रच्न थालिन्छ । लोकतान्त्रिक मुल्य र मान्यता अनुसार जारी गरिएको नेपालको नयाँ संविधान कार्यान्वायन गर्न विविध अवरोध देखा परेका छन् । दुई दशक पछि हुन लागेको स्थानिय तहको निर्वाचन नजिकिदै गए पनि विश्वासिलो वातावरण बन्न सकेको छैन । देशमा समस्या र चुनौतीका चाङ लागेका छन् ।
यस्ता खालका समस्या देखा पर्नुको मुख्य कारण भनेको राजनीति र धर्मलाई पृथक बनाउनु अथवा राजनीतिमा नैतिकताको अभाव हुनु हो । माथि उल्लेख गरिए जस्ता समस्याको हल गर्नको लागी राजनीतिलाई नैतिक बनाउनु पर्छ । राजनीति सत्ता प्राप्त गर्ने खेल मात्र नभएर लोकको हित गर्ने लोकनीति बन्न सक्नुपर्छ ।
आज देशमा विभिन्न संगठित धर्मको माध्यमबाट पुण्यको लोभ र पापको डर देखाउदै परमात्मासम्म पुग्ने बाटो देखाइ रहेको छ । तैपनि समाजमा विभिन्न अपराधिक घटना घट्ने गरेको छ । यदि धर्म नहुँदो हो तो अवस्था झन जर्जर, हिंसक बन्ने पक्का थियो । धर्मको मुख्य काम समाजमा अपराध हुन नदिनु र नैतिक समाज निर्माण गर्नु हो ।
नैतिकताको अनपुस्थितिले राजनीतिमा बैमानी तथा भ्रष्टचार बढिरहेको छ । त्यसकारण आज राजनीतिका देखा परेका खराब कुराहरुलाई ठिक गर्न र राजनितिलाई नैतिक बनाउन गान्धीको राजनीतिक आध्यात्मिकरण सान्दर्भिक हुन्छ । गान्धीले झै राजनीतिलाई धर्म–नीतिको शाखाको रुपमा बुझ्न सके र सोही अनुरुप काम गरे राजनीतिक क्रियाकलापहरु शुद्ध र नैतिक बन्न सक्छन् ।
(पत्रकार महासँघ धनकुटाका सह सचिव रहेका लेखकले गान्धी विचार परिषद वर्घा महाराष्ट्रबाट पोष्ट ग्राजुएड डिप्लोमा गरेका छन् । )