
विराटनगर । मोरङमा चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत १ हजार १४० प्रहरी परिचालन गरिएको छ । चाडपर्वमा हुनसक्ने लुटपाट, तस्करी, दुर्घटना लगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त संख्यामा प्रहरी परिचालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै चाडपर्व लक्षित सुरक्षा योजनाका बारेमा जानकारी गराएको छ ।
विराटनगरसहित मोरङका विभिन्न स्थानमा हुनसक्ने विभिन्न घटनालाई मध्यनजर गर्दै चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

मोबाइल गस्ती, पिकेट चेकिङ, पैदल गस्ती, क्विक रेस्पोन्स टिम, यात्रु सहायता कक्ष र सादा पोसाकका प्रहरीबाट पनि विशेष निगरानी सुरु गरिएको उनले जानकारी दिए ।
चाडपर्वका बेला हुनसक्ने विभिन्न घटनालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा निगरानी बढाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । यस्तै सिसी क्यामेराको माध्यमबाट पनि निगरानी भइरहेको जनाइएको छ ।

संगालोखबर 




















