
विराटनगर । संखुवासभामा पार्किङ गरेर राखेको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका-६ भोटेपुल छेउमा राखिएको एम्बुलेन्स तोडफोड गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सभापोखरी-६ का १८ वर्षीय युजेन राई, सभापोखरी-५ का १९ वर्षीय सविन लिम्बु र सोही गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय रविराज राई छन् ।
संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार तोडफोड भएको एम्बुलेन्स सभापोखरी गाउँपालिकाको हो । पार्किङमा राखेको नम्बर प्लेट नभएको अन टेष्ट एम्बुलेन्स शनिबार राति १० बजेतिर तोडफोड भएको थियो ।
आइतबार पक्राउ परेका तीनै जनाविरुद्ध आज जिल्ला अदालत चैनपुरबाट आपराधिक उपद्रव कसुरमा म्याद थप गरिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 




















