संगालोखबर


विराटनगर । नेपाली काँग्रेसका नेता डा. सुनिल कुमार शर्माले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्पलाई कमजोर नबनाएको बताएका छन् ।

महामन्त्रीमा पराजित भएपछि डा. शर्माले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् । यसले अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणा मिलेको उनले उल्लेख गरेका छन् ।

‘पदमा रहेर वा नरहेर, पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ र महामन्त्री पदको चुनावी दौडमा देशविदेशका महाधिवेसन प्रतिनिधिहरूले व्यक्त गर्नु भएको सदभाव साथै आफ्नो मत मार्फत दिनुभएको साथले  मलाई अझ सशक्‍तरूपमा काम गर्ने प्रेरणा दिएको छ’, उनले लेखेका छन् ।

काँग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कारको स्थापनाका लागि आफ्नो प्रयास र सक्रियता निरन्तर जारी रहने उनले बताएका हुन् ।

नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित भएका सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले आफ्नो उम्मेदवारी पद प्राप्तिको लागि मात्र नभएर काँग्रेसलाई अझ जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्पको अभिव्यक्ति रहेको उल्लेख गरेका छन् ।

बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने आफ्नो प्रतिबद्धता आज पनि उत्तिकै दृढ रहेको डा. शर्माले लेखेका छन् ।

‘राजनीतिमा जित र हार स्वाभाविक प्रक्रिया हुन् । मलाई विश्वास गरी आफ्नो अमूल्य मत प्रदान गर्नुहुने देश तथा विदेशदेखि आउनुभएका सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूप्रति हृदयको अन्तस्करणदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उनले लेखेका छन्, ‘यस अभियानमा अहोरात्र खटिनुहुने अग्रज, साथी, सहयात्री तथा शुभेच्छुकहरूप्रति विशेष आभार व्यक्त गर्दछु । तपाईँहरूले प्रदान गर्नुभएको माया, विश्वास र साथ मेरा लागि अमूल्य सम्पत्ति हुन् ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!