संगालोखबर


विराटनगर । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारी र उद्योग संगठन मोरङबीच छलफल भएको छ । औद्योगिक विकास, लगानी प्रवर्द्धन तथा निर्यात विस्तारका विषयमा छलफल भएको हो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले नयाँ लगानी आकर्षित र लगानी विस्तारका लागि उद्योगमैत्री नीतिगत व्यवस्था आवश्यक रहेको बताए । उनले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्न, औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिन तथा उद्योगी व्यवसायीको मनोबल बढाउन आग्रह गरे ।

संसदीय समितिका सभापति रहबर अन्सारीले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या, उत्पादन लागत र लगानीको वातावरणसँग सम्बन्धित विषयहरू औद्योगिक विकासका दृष्टिले महत्वपूर्ण रहेको बताउँदै उद्योगी व्यवसायीले प्रस्तुत गरेका सुझाव तथा समस्यालाई अध्ययन गरी सुधारका लागि आवश्यक पहल गर्ने बताए ।

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले विभिन्न कारणले बन्द भएका उद्योगलाई पुनः सञ्चालन गर्ने अवसर सहितको नीतिगत व्यवस्था हुनसके लगानीको वातावरण सुधार भई उद्यमशीलता संरक्षणमा समेत सहयोग पुग्ने उल्लेख गरे ।

संगठनका पूर्वअध्यक्ष सुयश प्याकुरेलले नेपाली उद्योगको उत्पादन क्षमता विस्तार गरी निर्यातमुखी औद्योगिकीकरणलाई प्राथमिकतामा दिँदै छिमेकी मुलुकको ठूलो बजारमा प्रतिस्पर्धी आपूर्तिकर्ताका रूपमा नेपाली उद्योगलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग स्थापना तथा सञ्चालनका क्रममा देखिने प्रक्रियागत जटिलता न्यूनीकरण गर्नुपर्ने बताए । अर्का उपाध्यक्ष विपिन कावराले औद्योगिक विकासका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

छलफलमा उद्योगीहरूले बढ्दो उत्पादन लागत, विद्युत् महसुल, औद्योगिक पूर्वाधारको अवस्था, नीतिगत जटिलता र निर्यात प्रवर्द्धनका चुनौतीहरूको बारेमा समितिका सभापतिको ध्यानाकर्षण गराउँदै नीतिगत सुधारमा जोड दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!