
विराटनगर । विराटनगरमा बेवारिसे अवस्थामा फेला परेकी बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । बिहीबार दिउँसो करिब १५ः३० बजे विराटनगर-७ स्थित कोशी अस्पताल छेउमा फेला परेकी बालिकालाई आमाको जिम्मा लगाइएको हो ।
गस्तीमा खटिएको सीआरभी टोलीले रुँदै गरेको अवस्थामा बालिकाको उद्धार गरेको थियो । हिँजो नै अभिभावक खोजेर बालिका जिम्मा लगाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
‘विराटनगर-७ कि तीन वर्षीया बालिका बेवारिसे अवस्थामा रुँदै, कराउँदै गरेको फेला पारेर उद्धार गरिएको थियो’, डीएसपी मिश्रले संगालोखबरसँग भने, ‘हिँजो नै आमा पुनम मरिकलाई जिम्मा लगाएका छौँ ।’
अभिभावकसँग निक्लिएका बेला बालिका त्यहाँ पुगेको खुलेको प्रहरीले जनाएको छ । आफूसँग बालबालिकाहरूलाई लिएर हिँड्दा विशेष ख्याल गर्न प्रहरीले अभिभावकहरूलाई आग्रह पनि गरेको छ ।

संगालोखबर 




















