सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा बसपार्कबाट बोलेरो गाडी आफ्नो गन्तव्यतर्फ अघि बढ्छ । विपरीत दिशाबाट तीन जना सवार मोटरसाइकल तीव्र गतिमा हुइँकिँदै आउँछ । चालकले हेलमेट समेत लगाएका हुँदैनन् ।

मोटरसाइकल अनियन्त्रित भएर बोलेरोमा ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु हुन्छ । मोटरसाइकल पछाडि सवार अन्य दुई जनालाई प्रहरीले तत्कालै उद्धार गरेर उपचारका लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पठाउँछ ।

दुर्घटनापछि स्थानीयहरूले घाइतेको उद्धारका लागि गुहार मागेको तथा सुरक्षाकर्मीले घाइतेहरूलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थानतर्फ लगेको दृष्य देखाइन्छ । यस्तै बोलेरो गाडीमा च्यापिएर घाइते भएका केही यात्रुहरूलाई उद्धार गरेर प्रहरीले अस्पताल पठाएको थियो ।

मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले आन्दोलन गर्दै सडक अवरुद्ध गर्छन् । त्यसपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले भिड नियन्त्रणमा लिएर यातायातका साधन सुचारु गराउँछन् ।

तर यो वास्तविक घटना नभएर चाडपर्व लक्षित सम्भावित दुर्घटना सम्बन्धी कृत्रिम अभ्यासमा देखाइएको दृश्य हो । जिल्ला सुरक्षा समितिको आयोजनामा भीम दल गण सल्लेरी, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले आज संयुक्तरूपमा धनकुटा बसपार्कमा सम्भावित दुर्घटना न्यूनीकरणका लागि अभ्यास गरेको छ ।

चाडपर्वको समयमा हुन सक्ने दुर्घटनालाई केन्द्रित गरी विपद् न्यूनिकरण  सम्बन्धी कृत्रिम अभ्यास गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । कतिपय दुर्घटना चालकको लापरबाहीका कारण हुने बताउँदै उनले सजग भएर सवारी चलाउन आग्रह गरिन् ।

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी-साधन नचलाउन आग्रह गरेको छ । यस्तै मोटरसाइकलमा दुई जनाबढी यात्रा नगर्न, अनिवार्य हेलमेट लगाउन तथा सवारी-साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न र सावधानीपूर्वक गाडी चलाउन पनि अनुरोध गरेको छ ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!