
विराटनगर । विराटनगरमा नवरात्रिको अवसरमा विशेष नवरात्रि उत्सव तथा वैदिक अनुष्ठान आयोजना हुने भएको छ । द आर्ट अफ लिभिङ नेपालको आयोजनामा असोज ३० देखि कात्तिक १ गतेसम्म नवरात्रि उत्सव हुन लागेको हो ।
आयोजकले आज पत्रकार सम्मेलन गर्दै श्री श्री रवि शंकर विद्या मन्दिर विराटनगर-२ मा हुन लागेको उत्सवमा वैदिक परम्परा, साधना, संस्कृति र सामूहिक आध्यात्मिक अनुभूतिको सुन्दर संगम प्रस्तुत गरिने जनाएको छ ।
कार्यक्रमअन्तर्गत गणपति होम, वास्तु होम, नवग्रह होम, रुद्र होम, महा सुदर्शन होम तथा विशेष चण्डी होम आयोजना गरिनेछ । श्रद्धालुहरूले परिवार तथा समाजको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामनासहित हवनमा सङ्कल्प लिएर सहभागी हुने अवसर पाउने आयोजकले जानकारी दिएको हो ।
यससँगै पूजा, हवन, सत्सङ्ग, ध्यान तथा सांस्कृतिक प्रस्तुतिहरू आयोजना हुने छन् । बालबालिका तथा युवाहरूको सहभागितामार्फत नयाँ पुस्तालाई वैदिक ज्ञान, संस्कार र मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

संगालोखबर 




















