
विराटनगर । मोरङको ग्रामथान-६ स्थित भरचोलगढीमा जारी तेस्रो मन्जिल स्मृति रानीगढी रनिङ कप फुटबल प्रतियोगितामा ब्ल्याक डायमन्ड एफसी फाइनलमा प्रवेश गरेको छ ।
भरचोल खेलमैदानमा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनलमा पिके एफसी बाहुनीलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक डायमन्ड फाइनलमा प्रवेश गरेको हो ।
ब्ल्याक डायमन्ड एफसीको जितमा हरि खवास र सिजल राईले समान १-१ गोल गरे । पिके एफसीका लागि गोबिन लिम्बूले एक गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका ब्ल्याक डायमन्ड एफसीका हरि खवास म्यान अफ दि म्याच घोषित भए । उनले नगद एक हजार रुपैयाँ नगद पुरस्कार पाए ।
अब ब्ल्याक डायमन्ड एफसीले उपाधिका लागि आयोजक मन्जिल रानीगढी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा खुकुरी एफसीलाई २-० ले हराउँदै आयोजक फाइनलमा पुगेको थियो ।
मन्जिल रानीगढी क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको फाइनल खेल असोज २६ गते सोमबार हुनेछ ।
क्लबका अध्यक्ष कृष्ण कुमार मण्डलका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

संगालोखबर 




















