संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सहकारी संस्थाको संख्या बढाउनेभन्दा सक्षम, सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन जोड दिने बताएका छन् ।

महानगरपालिकाको सहकारी शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर कोइरालाले कमजोर तथा रुग्ण सहकारी संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि एकीकरण उपयुक्त विकल्प भएको बताए ।

उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न महानगरपालिकाले नियमनलाई प्रभावकारी बनाउँदै लगेको उल्लेख गर्दै आवश्यकताअनुसार कमजोर संस्थालाई एकीकरण तथा खारेजीको प्रक्रियामा लैजाने नीति लिएको उल्लेख गरे ।

‘सहकारीको संख्या बढाएर मात्रै समुदायले प्रतिफल पाउँदैन’, उनले भने, ‘अब हाम्रो प्राथमिकता धेरै सहकारी बनाउने होइन, भएका संस्थालाई बलियो, व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउने हो ।’

महानगरपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा दुईवटा सहकारी संस्था विघटन हुँदा दुईवटा एकीकरण भएका थिए । त्यस्तै रुग्ण तथा निष्क्रिय अवस्थामा रहेका १३ वटा सहकारी संस्था खारेज गरिएको थियो ।

चालू आर्थिक वर्ष २०८३/८४ मा पनि महानगरपालिकाअन्तर्गतका दुईवटा सहकारी संस्था प्रदेश मातहतका सहकारीसँग एकीकरणको प्रक्रियामा छन् । थप दुईवटा सहकारी संस्था आपसमा गाभिएर महानगरपालिकाभित्रै एकीकरण हुने अन्तिम चरणमा पुगेका छन् ।

हाल विराटनगर महानगरपालिकाभित्र १५५ वटा सहकारी संस्था सञ्चालनमा रहेको जानकारी दिँदै मेयर कोइरालाले संख्यात्मक वृद्धिको तुलनामा सहकारी क्षेत्रबाट समुदायले अपेक्षित प्रतिफल पाउन नसकेको बताए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सहकारी संस्थाको दिगोपनका लागि संस्थागत सुशासन, वित्तीय अनुशासन र पारदर्शिता अपरिहार्य रहेको उल्लेख गरे । उनले सहकारी संस्थाहरूबीच सहकार्य र एकीकरणमार्फत स्रोत, जनशक्ति तथा व्यवस्थापकीय क्षमताको प्रभावकारी उपयोग गर्न सकिने धारणा राखे ।

कार्यक्रममा सहकारी विज्ञ रामचन्द्र गौतमले सहकारी संस्थाहरूको एकीकरणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले संस्थाको उद्देश्य, वित्तीय अवस्था, सदस्यको हित, व्यवस्थापन क्षमता र संस्थागत सुशासनलाई आधार बनाएर एकीकरणको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!