
विराटनगर । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर र आसपासको बजार क्षेत्रमा अनुगमन तीव्र पारिएको छ ।
सरोकारवाला निकायहरूको संयुक्त अनुगमन टोलीले खाद्यान्न, औषधि, होटल, कपडा, जुत्ता-चप्पल, माछा-मासु तथा डेरीसहित कुल ७४ वटा व्यावसायिक फर्महरूको अनुगमन गरेको हो ।
असोज ९ गतेयता भएको अनुगमनमा कैफियत फेला परेका २९ वटा फर्महरूलाई कुल ६ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ भने ३ वटा फार्मेसी सिल गरी ५ वटा फर्मलाई नियमनकारी निकायमा उपस्थित हुन निर्देशन दिइएको छ ।
अनुगमन टोलीले बिल-बिजक जारी नगरेको, खरिद-बिक्री खाता दुरुस्त नराखेको र कर सम्बन्धी मापदण्ड पालना नगरेका १९ वटा फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै, म्याद गुज्रिएका सामग्री बिक्री, लेबलिङ र रिप्याकेजिङमा त्रुटि गर्ने जयराज ट्रेडर्स, ताण्डव रेस्ट्रो, किरण ट्रेडर्स, ए टु जेड सप्लायर्स, न्यु जय माँ काली होटल, गुरुदेव स्वीट, करिया मिट सप र शान्ति किरानासहित ८ वटा फर्मलाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
यसैगरी, मापदण्ड विपरीत सञ्चालनमा रहेका तथा नवीकरण नगरिएका इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसीलाई औषधि व्यवस्था विभागमार्फत सिलबन्दी गरिएको हो ।
अनुगमनकै क्रममा विराटनगर-९ स्थित जयराज ट्रेडर्सको गोदामबाट बिल-बिजक नभएको ५४० केजी अवैध सुपारी फेला परेकाले जिल्ला प्रहरी कार्यालय मोरङमार्फत जफत गरी कानुनी प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकार दिए ।
अनुगमनका क्रममा भिसा मापदण्ड विपरीत गैरकानुनी व्यावसायिक गतिविधिमा संलग्न पाइएका दुई जना चिनियाँ नागरिकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सेन्ट्रल मलस्थित योनो ट्रेड सप्लायर्सका सञ्चालक से जिङ्सियान र एभरपिकका सञ्चालक लु जुक्सियाङलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रशासनले जनाएको छ ।
अखाद्य वस्तु बिक्री गर्ने वा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कानुनी कारबाही निरन्तर जारी रहने भन्दै उपभोक्ताहरूलाई पनि उपभोग्य वस्तुको म्याद हेरेर मात्र खरिद गर्न र ठगी भएमा तत्काल प्रशासनमा खबर गर्न आग्रह गरिएको छ ।
अनुगमन गरिएका र कारबाहीमा परेका फर्महरूको विवरण (यहाँ) क्लिक गरेर हेर्न सकिन्छ ।

संगालोखबर 




















