
धनकुटा । धनकुटाका स्थानीयहरूले प्रतिनिधिसभा पूर्वाधार विकास समितिलाई जिल्लामा सञ्चालित आयोजना र विकास निर्माणका समस्या समाधान गर्न माग गरेका छन् । समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा धनकुटा आएको टोलीलाई स्थानीयले यस्तो माग गरेका हुन् ।
छलफलमा मुलघाट-तमोर करिडोर क्षेत्रका विभिन्न सडक सञ्जाल, खानेपानी, सिँचाइ, भवन तथा विद्युत आयोजनामा देखिएका समस्या समाधान गर्न स्थानीयले सुझाव दिए । सडक निर्माणका क्रममा लडेका विद्युतको पोल फेर्नुपर्ने तथा काठका पोल भएका स्थानमा कङ्क्रिट अथवा फलामका पोल लगाउनुपर्नेमा उनीहरूले जोड दिए ।
पूर्वीपहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र ताप्लेजुङको दूरी छोट्याएर आर्थिक विकास गर्न धरान-लेउती सुरुङमार्गलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयले बताए । यस्तै कोशी राजमार्गमा पर्ने धरान-धनकुटा सडक खण्डको मर्मत सम्भार र भारवहन क्षमतामा ध्यान दिएर नाप जाँच गरेका सवारी साधन सञ्चालन हुनुपर्ने उनीहरूले जोड दिए ।
मुख्य सडकको बीचभागबाट २५/२५ मिटर चौडाइ कायम गरिएकोमा त्यसलाई घटाएर न्यूनतम १० देखि १५ मिटर बनाउनु पर्ने सरोकारवालाले बताए । सो मापदण्डका कारण सडक छेउ बसोबास भएकाहरूले विभिन्न समस्या भोग्न बाध्य हुनुपरेको स्थानीय बलबहादुर राईले उल्लेख गरे ।

अर्का स्थानीय चन्द्रसिंह नेम्वाङले निर्माणाधीन भेरेटार-रवि-राके सडकबाट निस्किने ढुंगा, माटो र गिट्टीका कारण विद्यालय र बस्तीलाई ठूलो असर पारेकाले तत्काल समस्या समाधान गर्न माग गरे । उक्त निर्माणधीन सडकका कारण लेउती खोलाले कोशी राजमार्गमा हरेक वर्ष लाखौँको नोक्सानी पु¥याउने गरेको बताए ।
पाख्रीबासस्थित भुल्के-पाख्रीबास खानेपानी आयोजना आन्तरिक विवादका कारण रोकिएको भन्दै तत्कालै समस्या समाधानका लागि पहल गर्न स्थानीयले माग गरे । स्थानीय भीम राईले पाख्रीबास-फलाटे-अधेरीघाट सडक निर्माणमा भएको ढिलाइका बारेमा ध्यानाकर्षण गराएका छन् ।
धनकुटाका सिराज जोसीले धनकुटाको तल्लो टुँडिखेल जीर्ण भएकाले मर्मतका लागि पहल गरे । कोशी प्रदेशका पहाडी जिल्लामा सञ्चालित विकास आयोजनामा देखिएका समस्या समाधानका लागि सुझाव संकलन गरेर सरकार र सम्बन्धित निकाय समक्ष पु¥याउने प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 




















