
धनकुटा । धनकुटाको पाख्रीबास बजारमा चाडपर्व लक्षित छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको अगुवाइमा आज करिब एक दर्जन होटल तथा खुद्रा र किराना पसलहरूको अनुगमन गरिएको हो ।
बजारमा सञ्चालित दुईवटा होटल तथा १० वटा किराना र खुद्रा पसलहरूमा गरिएको अनुगमनमा विभिन्न कैफियत भेटिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको चामल, बिस्कुट, मसला, पेयपदार्थ लगायतका खाद्यवस्तु जफत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाका अनुसार जफत गरिएको सामान जलाएर नष्ट गरिएको छ । करिब २१ हजार बराबरको अखाद्यवस्तु नष्ट गरिएको उनले जानकारी दिए ।
अनुगमनका क्रममा मूल्य सूची नराखेका पसलहरूलाई तत्कालै राख्न तथा म्याद गुज्रिएका सामान नबेच्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका सूचना अधिकारी अर्जुन गिरिले बताए ।
मापदण्ड विपरीत सञ्चालनमा रहेकाका पसलहरूलाई तत्कालै सुधार गर्न भनिएको छ । चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगिनसक्ने जोखिमलाई मध्यनजर गर्दै अनुगमन तीव्र पारिएको प्रशासकीय अधिकृत धमलाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय पाख्रीबास र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

सन्तोष सुवेदी/संगालोखबर 




















