
धनकुटा । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणका क्रममा भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
चाडपर्वमा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडाइका साथ लागूगर्न उनले निर्देशन दिए । डीआईजी खनालले कोशीका १४ वटै जिल्लामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको जानकारी दिए ।
सार्वजनिक यातायातमा तोकिएको भन्दा बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु चढाउने तथा यात्रुलाई दुःख दिने जस्ता विभिन्न गतिविधि हुनसक्ने भन्दै उनले विशेष निगरानी बढाउन निर्देशन दिए । उनले यात्राको क्रममा ठगिएको महसुस भएमा तत्कालै प्रहरीलाई जानकारी गराउन यात्रुहरूलाई आग्रह गरेका छन् ।

यसैगरी चाडपर्वको समयमा कालो बजारीसँगै म्याद गुज्रेका सामान बेच्ने सम्भावना बढी भएकाले प्रशासनसँगको समन्वयमा बजार अनुगमनलाई तीव्र पारिने उनले बताए । यस्तै लागूऔषध दुर्व्यसनमा फस्ने बालबालिकाको संख्या बढ्दै गएको भन्दै उनले यसको रोकथामका लागि सबैको साथ सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।
कार्यक्रमका सहभागीहरूले यात्रा गर्दा ज्येष्ठ नागरिकलाई भाडा छुट हुनुपर्ने, बजार छेत्रमा तिव्र गतिमा सवारी-साधन चलाउन रोक्नुपर्ने, यात्रा गर्दा बीच बाटोमा सवारी-साधान रोक्ने जस्ता गतिविधि नियन्त्रण गर्न विशेष निगरानी बढाउनुपर्ने बताए ।
नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागाईंले गाँजासहित नियन्त्रणमा लिइएका दर्जनौँ सवारी-साधान बेवारिसे रहेकाले लिलामी प्रक्रिया अगाडि बढाउन सुझाव दिए । कार्यक्रममा बोल्दै धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले नागरिकका लागि प्रहरी जुनसुकै अवस्थामा पनि साथमा रहने उल्लेख गरे ।

सन्तोष सुवेदी/संगालोखबर 




















