संगालोखबर

धनकुटा । धनकुटामा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मानित तथा पुरस्कृत गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई धनकुटाले आज कार्यक्रम आयोजना गरेर चार जना विद्यार्थी र चार विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउने गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका सुधिर ढुंगेल र प्रतिभा सुवेदीलाई पुरस्कार प्रदान गरिएको छ । त्यस्तै प्राविधिक धारतर्फ जनता माध्यमिक विद्यालय, जितपुरका होमनाथ नेपाल र विद्या लुङ्गेली मगरलाई पुरस्कृत गरिएको हो । त्यस्तैगरी उत्कृष्ट नतिजा ल्याउने गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय जितपुर, तुलसीमेहर मेमोरियल इङ्लिस स्कुल र तमोरभ्याली इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुललाई पनि सम्मान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख इन्दिरा खड्काले विद्यार्थीलाई पुरस्कार तथा विद्यालयका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरिन् ।

शिक्षा विकास तथा समन्वय इकाई धनकुटाले ‘अनिवार्य तथा निःशुल्क शिक्षा अधिकारको अवस्थासहितको समीक्षा’ विषयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।  वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिने विद्यार्थीहरुलाईसमेत कार्यक्रममा पुरस्कार वितरण गरिएको छ । धनकुटाका विभिन्न विद्यालयबाट १५ विद्यार्थी सहभागी भएको प्रतियोगितामा चौबिसे गाउँपालिका–७ मौनाबुधुकस्थित बुधुक माध्यमिक विद्यालयकी छात्रा सजिना राई प्रथम भइन् । त्यस्तै महालक्ष्मी नगरपालिका–८ निगालेस्थित जनता माध्यमिक विद्यालयकी छात्रा प्रमिसा खड्का दोस्रो भइन् भने साँगुरीगढी गाउँपालिका–४ डाँडाबजारस्थित भानु माध्यमिक विद्यालयकी छात्रा स्नेहा राईले  तेस्रो स्थान प्राप्त गरिन् । उनीहरुलाई क्रमश, ६०००, ५००० र ४००० रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा इकाईका शाखा अधिकृत बाबुराम पाण्डेले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन इकाईका प्राविधिक सहायक मोहन ढुंगानाले गरेका थिए भने कार्यक्रममा धनकुटाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूसहितको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!