संगालोखबर


सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाबासीले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

बर्जु गाउँपालिका र जीवन विकास सामुदायिक अस्पतालबीच सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज भएको समझदारीपत्रमा जीवन विकास सामुदायिक अस्पतालका तर्फबाट प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र बर्जु गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष जिबछ कुमार रायले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बर्जु गाउँपालिकाका बासिन्दा, स्थानीयतह अन्तर्गतका शिक्षक तथा कर्मचारी, निर्वाचित जनप्रतिनिधि र सम्झौतामा तोकिएका उनीहरूका परिवारका सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।

सम्झौता अन्तर्गत ओपीडी, आकस्मिक सेवा, बेड, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, डेन्टल, डेन्टल ल्याब, सीटी स्क्यान तथा यमआरआई लगायतका स्वास्थ्य सेवामा सम्झौता अनुसार छुट हुनेछ ।

अस्पताल र गाउँपालिकाबीच भएको यो सहकार्यले बर्जु गाउँपालिका क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि लाग्ने खर्चमा राहत पुग्नुका साथै विशेषज्ञ तथा आधुनिक स्वास्थ्य सेवामा उनीहरूको पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले गरिएको यस समझदारीलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण सहकार्य भएको जनाइएको छ ।

समझदारी पत्रको अवधि आजदेखि लागूभएर एक वर्षसम्म रहनेछ । आवश्यकता र आपसी सहमतिका आधारमा दुवै पक्षले सम्झौताको अवधि नवीकरण वा विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ ।

मोरङको कटहरी गाउँपालिका-२, हल्दीबारीस्थित २०० शय्याको जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न विशेषज्ञ ओपीडी, आकस्मिक सेवा, आइपीडी, आइसीयु, एनआईसीयू, एचडीसीयू तथा सीसीयू लगायतका स्वास्थ्य सेवा सञ्चालनमा छन् ।

अस्पतालमा अत्याधुनिक अपरेशन थिएटरमार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!