
विराटनगर । विराटनगरको सास्थम कलेजले बीबीए र बीएचएममा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ । मोरङसहित विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका २४० जना विद्यार्थीहरूलाई आज कार्यक्रम आयोजना गरेर स्वागतसहित अभिमुखीकरण गरिएको हो ।
सास्थममा यस पटक बीबीएतर्फ ९६ र बीएचएमतर्फ १४४ जना विद्यार्थी भर्ना भएका छन् । उनीहरूलाई स्वागतका लागि चार तारे होटल रत्नामा भब्य कार्यक्रम आयोजना गरिएको थियो । रत्ना होटल पनि सास्थम कलेजका प्रबन्ध निर्देशक रोशन थापाको हो ।

कार्यक्रममा क्याम्पस प्रमुख विनय विष्णु केसी, बीएचएम कार्यक्रमका निर्देशक शैलेन्द्र गणेश लगायतले विद्यार्थीहरूलाई खादा लगाएर स्वागत गरे ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टा, क्याम्पस प्रमुख केसी लगायतले विद्यार्थीहरूलाई लगनशील भई मेहनत गरेर अध्ययन गर्न सुझाव दिएका छन् । कार्यक्रममा उत्कृष्ट एक जना विद्यार्थीलाई निःशुल्क ट्युसन पढाउने गरी अर्वन मेमोरियल छात्रवृत्ति पनि घोषणा गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय र सीटीईभीटीद्वारा मान्यताप्राप्त सास्थम कलेजले सन् २००१ देखि बीएचएम र २००९ बाट बीबीए पढाई सुरु गरेको हो । २५ वर्षदेखिको अनुभव संगालेको सास्थम कलेज पूर्वी नेपालको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा स्थापित छ ।




संगालोखबर 














