
धनकुटा । धनकुटामा खोरेत रोग उन्मूलनका लागि निःशुल्क खोप अभियान सञ्चालन गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाभर खोरेत रोग उन्मूलनका लागि असोज १५ गतेदेखि खोप अभियान सुरु गर्ने भएको हो ।
गाई, भैंसी, बंगुर र बाख्रालगायत खुर भएका पशुलाई खोप लगाइने केन्द्रले जनाएको छ । सातवटै स्थानीय तहमा खोप सञ्चालनका लागि ४४ जना भ्याक्सिनेटर छनोट भइसकेका छन् ।
उनीहरूलाई सातवटै स्थानीय तहमा खटाइने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका सूचना अधिकारी दिनेश कार्कीले जानकारी दिए । गतवर्ष धनकुटामा ४७ हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको थियो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ देखि खोरेत रोग नियन्त्रण तथा न्यूनीकरणका लागि अभियान सञ्चालन गरी आगामी पाँच वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।
पशु चौपायाको स्वास्थ्यसँगै दूध तथा मासुको उत्पादन, बजार विस्तार र गुणस्तरसँग जोडेर खोप सञ्चालन गरिएको हो । यो रोग एक ठाउँबाट अर्को ठाउँमा पशु ओसार-पसार गर्दा फैलने जोखिम हुन्छ ।
खोरेत विरुद्धको खोप वर्षमा दुईपटक लगाउनुपर्ने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धनकुटामा ल्याएर लामो समय भण्डारणका लागि ‘कोल्ड चेन’ नभएकाले खोप विराटनगरमै राखिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 














