
सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धनकुटा नगरपालिका-२ भीरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो ।
आज बिहान ४ः३० बजे पानी परिरहेको बेला इटहरी-४ आर्मी क्याम्प नजिक सडकमा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल चिप्लिएर डिभाइडरमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका राईलाई तत्काल उपचारका लागि सामुदायिक अस्पताल इटहरी लगिएको थियो । त्यसपछि थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले बिहान ५ः२० बजेतिर मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार भिरगाउँकै २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । उनको विराटमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पानी परेर सडक चिप्लो भएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 














