
सुनसरी । डेढ अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-१५ रानीका ५६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३५ वर्षीय सुरज प्रसाद साह छन् ।
केही व्यक्तिहरूले गैरकानुनी रूपमा हुण्डी कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि सूक्ष्म अनुसन्धान सुरु गरेको थियो ।
बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा उनीहरूले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खाताहरू प्रयोग गरी कुल १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डीमार्फत अवैध कारोबार गरेको खुलेको सुनसरी प्रहरीले जनाएको छ ।
उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को हुण्डीसम्बन्धी कसूर, सङ्गठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डर्रिङ) निवारण ऐन २०६४ अन्तर्गत मुद्दा चलाउन प्रहरीले सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो ।
सोही आधारमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

संगालोखबर 














