आजभोलि म यो कस्तो संसारमा छु ?
लाखौंको भीडमा पनि अनकन्टारमा छु

पुग्नुपर्ने कहीँ छैन तर दौडिरहेको छु
केका लागि यतिविघ्न हतारमा छु ?

उनका लागि फगत पाउको धुलो रहेछु
ठान्दथेँ टीका हुँ उनको निधारमा छु

लाग्दथ्यो उनको दिलमा ‘स्थायी’ हुँ
सम्झाइदिइन् उनैले म ‘करार’ मा छु

अकस्मातको छालले रहेछ भेट गराएको
छुटेपछि थाहा भयो विपरीत किनारमा छु

उनको अनुपस्थितिले कोपिलामै मुर्झाइसकेँ
क्षणिक भ्रम रहेछ म वसन्तको बहारमा छु

रातले दिन पर्खिनुपर्छ उज्यालो छाउन
एकतमासले उनी फर्किने इन्तजारमा छु

पवन खड्का
खोटाङ 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!